काठमाडौं । काठमाडौं उपत्यकामा अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ तथा शान्ति सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिँदै प्रहरीले सञ्चालन गरेको अभियानअन्तर्गत आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १ हजार १६२ जना फरार कसुरदारलाई पक्राउ गरेको छ।

अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका उनीहरूलाई पक्राउ गरी प्रहरीले ३०२ वर्ष ४ महिना १८ दिन कैद र १५ करोड ७८ लाख ९८ हजार ७०७ रुपैयाँ जरिवाना असुल गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार साउन, भदौ र असोज महिनामा उपत्यकाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नियमित गस्ती, आकस्मिक चेकजाँच, अपराध अनुसन्धान तथा विशेष सुरक्षा अभियान सञ्चालन गरिएको थियो। यस अवधिमा फरार कसुरदार पक्राउसँगै लागुऔषध कारोबार, आर्थिक अपराध, जुवातास, महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहार र सवारी अपराध नियन्त्रणमा समेत प्रहरीले सक्रियता बढाएको थियो।

सुरक्षा निगरानी बढाउन ६१ हजारभन्दा बढी पटक गस्ती तथा चेकिङ

उपत्यकामा प्रहरीको प्रत्यक्ष उपस्थिति बढाउँदै सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले तीन महिनाको अवधिमा व्यापक गस्ती तथा चेकजाँच गरिएको छ।

प्रहरीले यस अवधिमा २३ हजार २४३ पटक मोबाइल गस्ती, २० हजार ८८७ पटक पैदल गस्ती र ११ हजार ३४९ पटक मोटरसाइकल गस्ती सञ्चालन गरेको जनाएको छ। त्यस्तै, नियमित तथा आकस्मिक रूपमा ६ हजार १७ पटक चेकिङ गरिएको थियो।

यसरी विभिन्न माध्यमबाट गरिएको गस्ती तथा चेकजाँचले सार्वजनिक स्थान, सडक, बजार क्षेत्र र संवेदनशील स्थानमा प्रहरीको निगरानी बढाउन सहयोग पुगेको प्रहरीको भनाइ छ।

यसैबीच विभिन्न कारागार तथा थुनाबाट फरार रहेका थप ६७ जना कैदीलाई समेत प्रहरीले पक्राउ गरेको छ। फरार कैदी तथा अदालतबाट सजाय तोकिएका कसुरदारको खोजीलाई प्राथमिकतामा राखेर प्रहरीले अभियान सञ्चालन गरेको जनाएको छ।

लागुऔषधविरुद्धको कारबाहीमा ३७८ जना पक्राउ

उपत्यकामा लागुऔषधको अवैध कारोबार, ओसारपसार तथा सेवन नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको अभियानमा तीन महिनामा ४४४ वटा मुद्दा दर्ता भएका छन्।

ती मुद्दामा संलग्न रहेको आरोपमा ३७८ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट ७२ केजीभन्दा बढी गाँजा, १३ केजीभन्दा बढी पोल्याण्ड, ७६७ ग्रामभन्दा बढी खैरो हेरोइन तथा ट्रमाडोलसहित २ लाख ९५ हजार ६७६ एम्पुल तथा चक्की नियन्त्रित लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

लागुऔषधको कारोबारले युवा पुस्ता तथा समाजको सुरक्षामा पार्न सक्ने असरलाई ध्यानमा राख्दै प्रहरीले यसको स्रोत, ओसारपसार सञ्जाल र कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी तथा अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ।

हुण्डी र सुनचाँदी तस्करीमा पनि प्रहरीको निगरानी

आर्थिक अपराध नियन्त्रणतर्फ प्रहरीले हुण्डी कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरी चारवटा मुद्दा दर्ता गरेको छ। उक्त प्रकरणमा १ करोड ६० लाख ८४ हजार १८० रुपैयाँ बिगो मागदाबी गरिएको छ।

त्यस्तै, भन्सार छली तथा अवैध रूपमा सुनचाँदी ओसारपसारमा संलग्न रहेको आरोपमा २७ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट २३ केजी ८८८ ग्रामभन्दा बढी सुनजस्तो देखिने पहेँलो धातु बरामद गरिएको प्रहरीले जनाएको छ।

अवैध आर्थिक कारोबार तथा राजस्व चुहावट नियन्त्रणका लागि सम्बन्धित निकायसँगको समन्वयमा अनुसन्धान र निगरानीलाई थप प्रभावकारी बनाइएको प्रहरीको भनाइ छ।

जुवातास नियन्त्रणमा ११९ जना पक्राउ

सार्वजनिक शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले सञ्चालन गरिएको जुवातास नियन्त्रण अभियानअन्तर्गत नियमित त्रैमासिक अवधिमा १४ वटा मुद्दा दर्ता भएका छन्।

प्रहरीले जुवातास खेल्ने तथा खेलाउने कार्यमा संलग्न ११९ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ४१ लाख ४३ हजार ५७५ रुपैयाँ नगद बरामद गरिएको छ।

चाडपर्व तथा सार्वजनिक बिदाका समयमा जुवातासका गतिविधि बढ्न सक्ने भएकाले प्रहरीले विशेष निगरानी र छड्के कारबाहीलाई प्राथमिकता दिएको जनाएको छ।

‘स्विप अपरेशन’मा २ हजार ७३४ जना नियन्त्रणमा

सार्वजनिक स्थलमा हुने आपराधिक गतिविधि, दुर्व्यवहार तथा शंकास्पद गतिविधि नियन्त्रणका लागि प्रहरीले ‘स्विप अपरेशन’ सञ्चालन गरेको थियो।

उक्त अभियानअन्तर्गत २ हजार ७३४ जनालाई नियन्त्रणमा लिएर आवश्यक छानबिन गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, महिला तथा बालबालिकामाथि हुन सक्ने दुर्व्यवहार र हिंसाजन्य गतिविधि रोकथामका लागि सञ्चालन गरिएको ‘सेफ्टी पिन अपरेशन’ अन्तर्गत ६३७ जना पक्राउ परेका छन्।

पक्राउ परेकामध्ये गम्भीर प्रकृतिका कसुरमा संलग्न रहेको आरोपमा ६३ जनाविरुद्ध ४३ वटा मुद्दा दर्ता गरिएको छ। सामान्य प्रकृतिका घटनामा संलग्न ५७४ जनालाई भने आवश्यक सचेतना दिएर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

महिला तथा बालबालिकाको सुरक्षा, सार्वजनिक यातायात र भीडभाड हुने स्थानमा हुने दुर्व्यवहार नियन्त्रण तथा सम्भावित जोखिम न्यूनीकरणका लागि उक्त अभियान सञ्चालन गरिएको प्रहरीको भनाइ छ।

मापसे गरी सवारी चलाउने ६ हजार ९३८ चालक कारबाहीमा

सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चेकजाँचलाई तीव्रता दिएको थियो।

यसक्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६ हजार ९३८ जना चालकलाई कारबाही गरिएको छ। त्यस्तै, लागुऔषध सेवन गरी सवारी चलाउने ७८ जना चालकसमेत कारबाहीमा परेका छन्।

सवारी साधन चोरी तथा हराएको भन्दै प्रहरीमा परेका ५२१ वटा उजुरीमध्ये २५७ वटा सवारी साधन फेला पारिएको छ। फेला परेकामध्ये २२१ वटा सम्बन्धित धनीलाई फिर्ता गरिएको छ भने चोरीमा संलग्न रहेको आरोपमा ३४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चाडपर्व सुरक्षामा ८ हजार ६६८ प्रहरी परिचालन

नियमित सुरक्षा कारबाहीसँगै दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी प्रहरीले एकमहिने विशेष सुरक्षा योजना लागू गरेको थियो।

असोज १८ गतेदेखि कात्तिक १८ गतेसम्म सञ्चालन गरिएको उक्त योजनाअन्तर्गत काठमाडौं उपत्यकामा विभिन्न दर्जाका ८ हजार ६६८ जना प्रहरी परिचालन गरिएको थियो।

चाडपर्वका समयमा चोरी, लुटपाट, ठगी, जुवातास, अवैध पटाका कारोबार तथा अन्य आपराधिक गतिविधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा निगरानी विस्तार गरेको थियो।

योजनाअन्तर्गत कमान्ड पोस्ट स्थापना, पैदल तथा सवारी गस्ती, सादा पोसाकमा प्रहरी परिचालन र यात्रु तथा नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन ३७ वटा सहायता डेस्क स्थापना गरिएको थियो।

त्यस्तै, उपत्यकाका २२ वटा प्रवेश तथा निकास नाकामा चौबिसै घण्टा चेकिङको व्यवस्था मिलाइएको थियो। संवेदनशील क्षेत्रमा तालिमप्राप्त कुकुर परिचालन गर्नुका साथै सीसीटीभी र ड्रोनमार्फत समेत निगरानी गरिएको प्रहरीले जनाएको छ।

चाडपर्वमा जुवातास र पटाकाविरुद्ध विशेष कारबाही

विशेष सुरक्षा योजनाका क्रममा जुवातास खेल्ने तथा खेलाउनेविरुद्ध प्रहरीले १२ वटा मुद्दा दर्ता गरी ९१ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूको साथबाट २८ लाख ७९ हजार ७७५ रुपैयाँ नगद र ४९ बुक तास बरामद गरिएको छ।

त्यस्तै, अवैध रूपमा पटाका आयात तथा बिक्री वितरणमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट विभिन्न प्रकारका ३४ हजार ३५७ थान पटाका, १३ हजार ८४९ प्याकेट सिल्भर टर्चर तथा पड्किने पटाका बरामद गरिएको प्रहरीले जनाएको छ। यसका अतिरिक्त तीन बोरामा राखिएका बेवारिसे पटाकासमेत जफत गरिएको थियो।

अपराध नियन्त्रण र नागरिक सुरक्षालाई प्राथमिकता

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार नियमित त्रैमासिक सुरक्षा कारबाही र चाडपर्व लक्षित विशेष सुरक्षा योजनाले उपत्यकाको शान्ति सुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा नागरिकमा सुरक्षाको अनुभूति बढाउन सहयोग पुगेको छ।

प्रहरीले अपराध नियन्त्रणलाई केवल पक्राउ र कारबाहीमा सीमित नराखी सम्भावित अपराध रोकथाम, नियमित निगरानी, नागरिक सहायता र सार्वजनिक सुरक्षालाई समेत प्राथमिकतामा राखेको जनाएको छ।

कार्यालयले दीपावली तथा छठ पर्व मनाउने क्रममा जुवातास खेल्ने वा खेलाउने, अवैध पटाका तथा विस्फोटक पदार्थको प्रयोग गर्ने गतिविधिबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

त्यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गर्दै प्रहरीले नागरिकको सहयोग र सहकार्यबाट मात्रै सुरक्षित तथा व्यवस्थित उपत्यका निर्माण गर्न सकिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय