
काठमाडौं । काठमाडौंको रात्रिकालीन मनोरञ्जन व्यवसायमा स्थापित व्यवसायी विशाल तुलाचन अब आफ्नो जन्मथलो पोखरामा ५० करोड रुपैयाँभन्दा बढी लगानीमा प्रिमियम क्लब ‘भलक्यानो’ निर्माण गर्ने तयारीमा जुटेका छन्।
करिब तीन रोपनी क्षेत्रफलमा निर्माण हुने भलक्यानोमा क्लब, रेस्टुरेन्ट, फुड कोर्ट, स्पा, रूफटप रेस्टुरेन्ट तथा बालबालिकाका लागि प्ले जोनसमेत रहनेछ। एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको परियोजनाबाट करिब १२० जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ।

काठमाडौंको चर्चित ‘नोभा’ क्लब स्थापना गरेर आफ्नो पहिचान बनाएका तुलाचनले यसअघि बानेश्वरमा ‘बानेश्वर हिल्स’ ब्यांक्वेटसमेत सञ्चालनमा ल्याइसकेका छन्।
पारिवारिक व्यवसायको पृष्ठभूमिबाट आएका तुलाचनले जापानमा फोटोग्राफी तथा रेस्टुरेन्ट व्यवसायको अनुभवसमेत हासिल गरेका छन्। भलक्यानोको डिजाइन तयार गर्दा उनले सिंगापुर, भियतनाम, थाइल्यान्ड र स्पेनका क्लबहरूको अध्ययन गरेका छन्।
विदेशी क्लबको अवधारणालाई पोखराको पर्यटन र नेपाली ग्राहकको रुचिअनुसार मौलिक स्वरूप दिने उनको योजना छ। भलक्यानो सञ्चालनमा आएपछि पोखराको पर्यटन, आतिथ्य तथा रात्रिकालीन मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थपिने उनको अपेक्षा छ





