
सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–७, स्याउलेस्थित पानीडाँडा सामुदायिक वनबाट प्रहरीले आठ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।

सामुदायिक वन क्षेत्रमा भरुवा बन्दुक लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा ती बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार बरामद भएका आठ थान बन्दुकमध्ये पाँच थान साबुत अवस्थामा छन् भने तीन थान बेसाबुत अवस्थामा रहेका छन्। सबै बन्दुक बेवारिसे अवस्थामा फेला परेका हुन्।
वन क्षेत्रमा कसले, कहिलेदेखि र के प्रयोजनका लागि बन्दुक लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, घटनामा संलग्न व्यक्तिको पहिचान तथा अवैध हतियारको स्रोत पत्ता लगाउने प्रयास भइरहेको छ।





