विराटनगर । विराटनगरका व्यापारी लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले मुख्य योजनाकार भनिएका व्यक्तिसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय नागरिक र एक नेपाली किशोरसमेत रहेका छन्।

भारतको वाराणसी स्थायी घर भई विगत चार दशकदेखि विराटनगरको महावीर रोडमा ‘लाल ब्याट्री एन्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका ६९ वर्षीय गुप्ताको हत्या आरोपमा मोरङ र सुनसरी प्रहरीको संयुक्त टोलीले मंगलबार साँझ तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६, स्वागत चोकका ३६ वर्षीय अफरोज आलम तथा शव व्यवस्थापन र ओसारपसारमा सहयोग गरेको आरोपमा १३ वर्षीय भारतीय किशोर र १६ वर्षीय नेपाली किशोर रहेका छन्। आलम महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालन गर्दै आएका थिए।

प्रहरीका अनुसार गत कात्तिक ६ गते दिउँसो करिब ३ बजे पसलबाट निस्किएका गुप्ता त्यसपछि सम्पर्कविहीन भएका थिए। दुई दिनपछि, कात्तिक ८ गते बिहान मोरङ र सुनसरीको सिमानामा पर्ने सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केसलिया खोलाको किनारमा उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो।

सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लका अनुसार विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार चोरी गरेको आरोप आलममाथि लागेको थियो। उक्त घटनाबारे गुप्ताले बजारमा हल्ला फैलाएको भन्दै आलम उनीसँग आक्रोशित बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार सोही रिसइबीका कारण आलमले गुप्ताको हत्या गर्ने योजना बनाएको आशंका गरिएको छ। दसैँको अवसर पारेर उनले कात्तिक ६ गते साँझ गुप्तालाई आफ्नो घरमा पाहुना खान बोलाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा बोलाएर मादक पदार्थ सेवन गराएपछि आलमले बोतल र रडले प्रहार गरी गुप्ताको हत्या गरेका थिए। त्यसपछि दुई किशोरको सहयोगमा शव बोरामा राखेर केसलिया खोलामा फालेको आरोप उनीहरूमाथि लागेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय