
रुकुम पश्चिम । राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनमा बाधा पुर्याएको आरोपमा रुकुम पश्चिममा एक वडाध्यक्ष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–३ का ३६ वर्षीय वडाध्यक्ष केशरमान बि.क. रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार २०८३ असोज २० गते बिहान करिब ९ बजे मुसिकोट नगरपालिका–१ स्थित कालिका मन्दिरनजिक सडकमा प्रहरीले अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका गोपाल बि.क. भनिने वीरेन्द्र बि.क.को खोजतलास गरिरहेको थियो।
सो क्रममा वडाध्यक्ष केशरमानले प्रहरी टोलीसँग विवाद गर्दै अश्लील शब्द प्रयोग गर्नुका साथै हातपात गरी प्रहरी कर्मचारीको पोसाकसमेत च्यातिदिएको प्रहरीको आरोप छ। प्रहरीले उनका भाइ गोपाललाई नियन्त्रणमा लिन खोज्दा वडाध्यक्षले भगाएको समेत जनाएको छ।
प्रहरीका अनुसार गोपालविरुद्ध अभद्र व्यवहारसम्बन्धी जाहेरी परेपछि उनी खलंगा बजार क्षेत्रमा लुकिछिपी बसेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीले वडाध्यक्ष केशरमानले ड्युटीमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनमा बाधा अवरोध पुर्याएको भन्दै घटनास्थलबाटै पक्राउ गरेको जनाएको छ। उनलाई राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय, मुसिकोटबाट तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले वडाध्यक्ष केशरमानको यसअघिको आपराधिक पृष्ठभूमिसमेत सार्वजनिक गरेको छ। प्रहरीका अनुसार उनीविरुद्ध २०७६ सालमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा १० हजार रुपैयाँ धरौटी, २०७७ सालमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १ लाख रुपैयाँ धरौटी तथा सोही वर्षको अर्को अभद्र व्यवहारसम्बन्धी मुद्दामा २४ हजार रुपैयाँ धरौटीमा छुटेको अभिलेख रहेको छ।
प्रहरीले उनी गाउँघरमा रहँदा समेत सन्तोषजनक चालचलन नदेखाई विभिन्न घटनामा पटक–पटक संलग्न हुने गरेको दाबी गरेको छ। प्रहरीले उनलाई ‘गुण्डा प्रवृत्तिको व्यवहार’ देखाउने व्यक्तिका रूपमा समेत उल्लेख गरेको छ।





