
झापा । झापाको मेचीनगरमा प्रहरीले जुवातास र लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा १४ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूबाट नगद रकमसहित तास र डाइस बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले मेचीनगर–१० स्थित जमिन राईको सेकुवा कर्नरमा तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूको साथबाट १ लाख ८ हजार ५२० रुपैयाँ नगद र तास बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा किरण लम्साल, विशाल लावती, ढोकन डाँडाका विशाल लावती, हर्काराज राई, प्रकाश लावती, सागर बस्नेत, मेदनी बराल र शेखरनाथ भण्डारी रहेका छन्। उनीहरूमाथि झापा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले मेचीनगर–८ इटाभट्टाबाट लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट १८ हजार ५० रुपैयाँ र डाइस बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा चेतबहादुर लिम्बू, दिपक चौधरी, सनम तामाङ र जुगल भुजेललगायत रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।





