सुरक्षा सरोकार । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको नेतृत्व सम्हालेको आठ महिनाको अवधिमा प्रहरी निरीक्षक (प्र.नि.) समुन्नत अधिकारीले अपराध नियन्त्रण, फैसला कार्यान्वयन, लागूऔषध नियन्त्रण, तस्करी नियन्त्रण तथा अवैध उत्खननविरुद्धको अभियानलाई प्राथमिकतामा राखेर काम गरेका छन्।

सीमावर्ती क्षेत्रको सुरक्षा चुनौतीसँगै लागूऔषध कारोबार, चोरी पैठारी, काठ तथा नदीजन्य पदार्थको अवैध कारोबार र घरेलु मदिरा उत्पादनजस्ता गतिविधि नियन्त्रणमा कार्यालयले निरन्तर कारबाही अघि बढाएको देखिन्छ।

फैसला कार्यान्वयनमा कडाइ

अदालतबाट फैसला भइसकेपछि पनि फरार रहेका प्रतिवादी पक्राउ गर्ने अभियानलाई कार्यालयले प्रभावकारी बनाएको छ। आठ महिनामा ५२ जना फरार प्रतिवादी पक्राउ गरी १३ वर्ष ५ महिना कैद तथा रु. २ करोड ८२ लाख १० हजार ६ सय ५६ रुपैयाँ ३० पैसा जरिवाना असुल गरिएको छ।

त्यस्तै, चालु मुद्दा तथा अनुसन्धानका क्रममा २२ जना पक्राउ परेका छन् भने ३ वटा मुद्दा दर्ता भएका छन्।

४५३ किलोभन्दा बढी गाँजा बरामद

लागूऔषध नियन्त्रणतर्फको कारबाहीलाई कार्यालयको प्रमुख उपलब्धिका रूपमा लिन सकिन्छ। प्रहरीले आठ महिनामा ४५३ किलो १७ ग्राम गाँजासहित ९ जनालाई पक्राउ गरेको छ।

गाँजा ओसारपसारमा प्रयोग भएका १ ट्रयाक्टर, २ मोटरसाइकल, १ साइकल र १ कार समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, २० ग्राम ८७ मिलिग्राम ब्राउन सुगर तथा ४ ग्राम अफिमसहित ४ जना पक्राउ परेका छन्।

प्रहरीले लागूऔषधको कारोबार नियन्त्रणसँगै यसको उत्पादनमै रोक लगाउने अभियानसमेत सञ्चालन गरेको छ। सो क्रममा ३७ हजार ६८४ बोट गाँजा तथा २ हजार ५०० बोट अफिम फडानी गरी नष्ट गरिएको छ।

हातहतियार र विस्फोटक पदार्थमा पनि कारबाही

अपराध नियन्त्रणअन्तर्गत हातहतियारसहित १ जना पक्राउ परेका छन्। त्यस्तै, विस्फोटक पदार्थसहित ४ जना पक्राउ गरी उनीहरूले प्रयोग गरेको १ वटा कार समेत नियन्त्रणमा लिइएको छ।

यसले कार्यालयले लागूऔषधसँगै सम्भावित आपराधिक गतिविधिमा प्रयोग हुन सक्ने हातहतियार तथा विस्फोटक पदार्थको नियन्त्रणलाई समेत प्राथमिकतामा राखेको देखाउँछ।

काठ तस्करी र अवैध उत्खननविरुद्ध अप्रेसन

वन तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा पनि कार्यालयले सक्रियता देखाएको छ। काठ तस्करी नियन्त्रणका क्रममा ५७ थान काठका गोलिया, २ ट्रयाक्टर र १६ साइकल नियन्त्रणमा लिइएको छ भने ३ जना पक्राउ परेका छन्।

त्यसैगरी, अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ६३ ट्रयाक्टर तथा २ वटा जेसीबी नियन्त्रणमा लिइएको छ।

सीमावर्ती चोरी पैठारीमा निगरानी

पटेर्वा सुगौली क्षेत्रको अर्को चुनौतीका रूपमा रहेको भन्सार चोरी पैठारी नियन्त्रणमा पनि प्रहरीले कारबाही अघि बढाएको छ।

आठ महिनाको अवधिमा रु. २९ लाख ९५ हजार २ सय ६९ बराबरको गैरकानुनी मालसामान बरामद गरिएको छ भने २ जना पक्राउ परेका छन्।

घरेलु मदिराविरुद्ध पनि अभियान

घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानमा १ हजार ६५४ लिटर तयारी घरेलु मदिरा र ३ हजार १५० लिटर कच्चा पदार्थ नष्ट गरिएको छ।

‘कारबाही मात्रै होइन, परिणाम’ देखाउने प्रयास

प्रहरी निरीक्षक समुन्नत अधिकारीको आठ महिनाको कार्यसम्पादनलाई हेर्दा कार्यालयले अपराध भएपछि अनुसन्धान र पक्राउमा मात्र सीमित नरही अपराधको स्रोत, कारोबारको माध्यम र अवैध गतिविधिमा प्रयोग हुने साधन नियन्त्रण गर्ने रणनीति अपनाएको देखिन्छ।

फैसला कार्यान्वयनमा ठूलो संख्यामा फरार प्रतिवादी पक्राउदेखि लागूऔषधको ठूलो परिमाण बरामद, अवैध खेती फडानी, काठ तथा नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण, चोरी पैठारी र घरेलु मदिराविरुद्धको कारबाहीसम्मका तथ्यांकले आठ महिनाको अवधिमा कार्यालयको सक्रियता देखाउँछन्।

समुन्नत अधिकारीको नेतृत्वमा सञ्चालन भएका यी अभियानले इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको अपराध नियन्त्रण, अनुसन्धान र कानून कार्यान्वयन क्षमतालाई थप प्रभावकारी बनाउने प्रयास भएको देखिन्छ। आगामी दिनमा यस्ता कारबाहीलाई निरन्तरता दिँदै सीमावर्ती क्षेत्रका संगठित तथा अवैध गतिविधिको सञ्जालसम्म पुग्नु कार्यालयका लागि थप महत्वपूर्ण चुनौती हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय