
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन्।

बालिका हराएको सूचना पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा असोज १६ गते तिलोत्तमा नगरपालिका–१० स्थित चक्रहवा जंगलबाट उनलाई सकुशल उद्धार गरेको हो।
बालिका अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले तिलोत्तमा–१० शान्तिनगरका अन्दाजी २७ वर्षीय युवराज थारुको खोजी गरिरहेको थियो।
असोज १८ गते राति तिलोत्तमा–१७ दरखसवास्थित धानबारीमा थारुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जनाएको छ। गोली लागेर घुँडामुनि घाइते भएका थारुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएको छ।
प्रहरीका अनुसार थारुको उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





