
काठमाडौं । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको थियो।
लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा विधेयक संसद्को जिम्मामा पुगेको मन्त्री प्रतिभा रावलले बताएकी छन्।

उनका अनुसार गहन अध्ययन तथा व्यापक छलफलपछि विधेयकलाई अन्तिम रूप दिइएको हो। विधेयकले निजामती सेवालाई थप सक्षम, प्रभावकारी, दक्ष, उत्तरदायी र परिणाममुखी बनाउँदै कार्यसम्पादन तथा जवाफदेहितालाई ‘स्केल–अप फेज’मा लैजाने अपेक्षा गरिएको छ।
मन्त्री रावलले संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि विधेयकले महत्त्वपूर्ण आधार प्रदान गर्ने बताएकी छन्। साथै, सुशासन र सार्वजनिक प्रशासन सुधारका क्षेत्रमा पनि यो विधेयक महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने उनको विश्वास छ।
उनले विधेयक सार्वभौम संसद्को जिम्मामा पुगिसकेको उल्लेख गर्दै संसद्मा हुने गहन छलफल र आवश्यक प्रक्रियापछि विधेयक छिट्टै पारित हुने अपेक्षा व्यक्त गरेकी छन्।
विधेयक पारित भएपछि नेपालको सार्वजनिक प्रशासनलाई थप सक्षम, उत्तरदायी र परिणाममुखी बनाउन बलियो आधार तयार हुने उनको भनाइ छ।





