
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भदौ महिनामा शान्ति–सुरक्षा, अपराध नियन्त्रण, फैसला कार्यान्वयन तथा जनचेतनामूलक गतिविधिमा उल्लेख्य काम गरेको जनाएको छ।
कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार भदौ महिनामा अवैध हातहतियार तथा विस्फोटक पदार्थ बरामददेखि लागुऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, सवारी दुर्घटना न्यूनीकरण र समुदाय–प्रहरी साझेदारीका कार्यक्रम सञ्चालन गरिएको छ।

अवैध हतियार र विस्फोटक पदार्थ बरामद
प्रहरीले भदौ महिनामा विभिन्न स्थानबाट ७ थान भरुवा बन्दुक तथा मेड इन चेकोस्लोभाकिया लेखिएको एक थान स्वचालित पेस्तोल, त्यसको म्यागजिन र ५ राउन्ड गोली बरामद गरेको जनाएको छ।
यस्तै, ८१ एमएमको एक थान सेल फेला परेपछि नेपाली सेनाको टोलीमार्फत डिस्पोज गरिएको प्रहरीले जनाएको छ।
लागुऔषधमा १९ जना पक्राउ
लागुऔषध नियन्त्रणतर्फ प्रहरीले भदौ महिनामा ८ वटा मुद्दा दर्ता गरी १९ जनालाई पक्राउ गरेको छ।
कारबाहीका क्रममा २३.०४ ग्राम ब्राउन सुगर (खैरो हिरोइन), ३८ ग्राम ४७० मिलिग्राम चरेस, २१ ग्राम ४४० मिलिग्राम गाँजा, २ बोतल कोरेलेक्स र एक ट्याब्लेट नाइट्राजेपाम बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, वीरेन्द्रनगरका विभिन्न स्थानबाट अवैध रूपमा ढुङ्गा तथा बालुवा लोड गरिएका ३ वटा ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको छ।
३३४ ठाडो उजुरी फर्छ्यौट
अपराध तथा उजुरीतर्फ महिला तथा बालबालिकासम्बन्धी ७ वटा मुद्दा दर्ता भएकामा ५ वटा फर्छ्यौट भएका छन्। बैंकिङ कसुरतर्फ ८ वटा मुद्दा दर्ता भएकामा एउटा फर्छ्यौट भएको छ।
अदालतको फैसला कार्यान्वयनतर्फ ८ जना फरार प्रतिवादीलाई पक्राउ गरी उनीहरूबाट ७ वर्ष १५ दिन कैद सजाय कार्यान्वयन गराइएको छ।
यस्तै, प्रहरी कार्यालयमा परेका ३३१ र जिल्ला प्रशासन कार्यालयमार्फत आएका ३ गरी कुल ३३४ वटा ठाडो उजुरी फर्छ्यौट गरिएको प्रहरीले जनाएको छ।
हराएका ५१ जना फेला
घरेलु हिंसासम्बन्धी ३४ वटा निवेदन दर्ता भएकामा २६ वटामा आपसी सहमति गराइएको छ। चार वटा कानुनी प्रक्रियामा रहेका छन् भने चार वटा बाँकी रहेको प्रहरीले जनाएको छ।
भदौ महिनामा हराएका ६२ जनामध्ये ४१ जना तथा विगतमा हराएका १० जना गरी कुल ५१ जना फेला पारिएको छ।
यस अवधिमा आत्महत्यासम्बन्धी १२ वटा घटना दर्ता भएका छन्। तीमध्ये ११ जनाले झुन्डिएर र एक जनाले विष सेवन गरी आत्महत्या गरेको विवरणमा उल्लेख छ।
४८ सवारी दुर्घटना, ५ जनाको मृत्यु
भदौ महिनामा सुर्खेतमा ४८ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ५ जनाको मृत्यु, २६ जना गम्भीर र ३८ जना साधारण घाइते भएका छन्।
ट्राफिक चेकिङका क्रममा ८५ वटा सवारीसाधनलाई कारबाही गरी ८ लाख २९ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ।
यस्तै, ओभरलोड बोकेका १०१ वटा सवारीसाधनलाई कारबाही, अस्पष्ट नम्बर प्लेट भएका १९ वटा सवारीको नम्बर प्लेट पुनः लेखन तथा ११७ वटा सवारीका झ्यालमा राखिएका कालो प्लास्टिक हटाइएको प्रहरीले जनाएको छ।
६ हजारभन्दा बढी गस्ती
शान्ति–सुरक्षा कायम गर्न प्रहरीले भदौ महिनामा ६ हजार ७८ वटा नियमित गस्ती तथा चेकिङ सञ्चालन गरेको छ। यसमा एलआरपी, एसआरपी, पैदल गस्ती, मोबाइल गस्ती, चेकिङ, पिकेट तथा अन्तरक्रियालगायतका गतिविधि समेटिएका छन्।
प्रहरी हटलाइन १०० तथा अन्य सम्पर्क नम्बरमा २ हजार ९५४ वटा कल प्राप्त भएको विवरणमा उल्लेख छ।
२५ हजारभन्दा बढी नागरिक तथा विद्यार्थी लाभान्वित
समुदाय–प्रहरी साझेदारी तथा विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत भदौ महिनामा १०९ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रमबाट २५ हजार ८० जना नागरिक तथा विद्यार्थी लाभान्वित भएको प्रहरीले जनाएको छ।
महिनाभरमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट ८ हजार ९१० जना सेवाग्राहीले सेवा लिएका छन् भने कार्य विशेष शाखाबाट १२६ वटा सिफारिस पत्र जारी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले जिल्लामा शान्ति–सुरक्षा कायम राख्ने, अपराध न्यूनीकरण गर्ने र सवारी दुर्घटना घटाउने उद्देश्यले प्रहरीको अभियानलाई आगामी दिनमा थप प्रभावकारी बनाइने जानकारी दिए।




