
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–१, बुर्तिबाङबाट १ हजार ५ सय ग्राम गाँजा र ३८० ग्राम चरेससहित एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–२ स्थायी ठेगाना भई हाल ढोरपाटन नगरपालिका–१, बुर्तिबाङ रिभरहेडस्थित मिना होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएकी मिना थापा भण्डारी भन्ने रामकुमारी थापा रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रतिबन्धित लागूऔषध गाँजा तथा चरेस सञ्चित गरी बिक्री गर्ने गरेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले २०८३ भदौ २४ गते दिउँसो करिब ३ बजे होटल तथा शंकित व्यक्तिको चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा होटलबाट गाँजाजस्तो गन्ध आउने धुलो पदार्थ १ हजार ५ सय ग्राम र चरेसजस्तो गन्ध आउने कालो ठोस पदार्थ ३८० ग्राम बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषधसहित थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि बागलुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।




