
रुपन्देही । बुटवलमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले १ लाख ३२ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलले बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा घर भाडामा लिएर जुवा सञ्चालन गरेको आरोपमा ५३ वर्षीया शिवानी शाही र उनका श्रीमान् देवकुमार शाहीलाई पनि नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शाही दम्पतीले जापानमा रहेका एक व्यक्तिको घर भाडामा लिएर जुवा खेलाउने गरेको सूचनाका आधारमा बिहीबार प्रहरीले छापा मारेको थियो। सो क्रममा उनीहरूलाई नगदसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका अन्य व्यक्ति बुटवल तथा पाल्पाका विभिन्न स्थानका रहेको र उनीहरू नियमित रूपमा जुवा खेल्ने गरेको प्रहरीको भनाइ छ। प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार बरामद रकम जफत गरी पक्राउ परेकामाथि जुवा ऐनअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।





