
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वार्टर प्रभावित बनाएको दाबी गरेका छन्।

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथि उठेका प्रश्नहरूको गम्भीर छानबिन हुनुपर्ने बताए। उनका अनुसार समितिले १५ दिनभित्र प्रहरीको स्रोत–साधन खरिदमा भएका भनिएका अनियमिततासम्बन्धी कागजात मागेको भए पनि त्यसको अवस्था स्पष्ट हुनुपर्ने आवश्यकता छ।
सुनारले सोहीबीच प्रहरीले करोडौँ रुपैयाँका टेन्डर आह्वान गरेको भन्दै खरिद प्रक्रियामाथि प्रश्न उठाए। उनले आफूले यसअघि उठाएको विषयमा अझै पनि अडिग रहेको बताए।
आफूमाथि मानमर्दनको आरोप लागे कानुनी बाटो रोज्न पनि उनले चुनौती दिए। ‘कसैलाई मेरो अभिव्यक्तिले मानमर्दन भयो भन्ने लाग्छ भने अदालत गएर मुद्दा हाल्न सक्नुहुन्छ,’ उनले भने, ‘म कठघरामा उभिएर जवाफ दिन तयार छु।’
सार्वभौम संसदीय समितिको बैठकमा भने मर्यादित ढंगले विषय उठाउनुपर्नेमा जोड दिँदै उनले सरकार र समितिको गरिमामाथि असर पर्ने गरी प्रस्तुत हुन नहुने धारणा राखे।




