कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा स्थान परिवर्तन गर्दै जुवा सञ्चालन गर्दै आएको समूहलाई प्रहरीले पक्राउ गरेको छ। कृष्णनगर नगरपालिका–३ झण्डीनगरस्थित एक घरमा छापा मार्दा प्रहरीले जुवाको खालबाट ४ लाख ७५ हजार रुपैयाँ नगद, २४ थान मोबाइल र तीन गड्डी तास बरामद गरेको जनाएको छ।

लुम्बिनी प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले शनिबार दिउँसो विनोद रावतको घरमा छापा मारेको थियो। प्रहरीका अनुसार टोली पुग्दा घरभित्र जुवा खेलिरहेको अवस्थामा १५ जनालाई नियन्त्रणमा लिइएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले एउटै स्थानमा मात्र नभई घर तथा स्थान परिवर्तन गर्दै जुवा खेल्ने गरेको खुलेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरले बताए। त्यसैले प्रहरीले घटनालाई एउटा घरमा भेटिएको सामान्य जुवाको घटनाका रूपमा मात्र नलिई समूहको गतिविधि र सम्भावित सञ्जालबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देही गैडहवा गाउँपालिका–३ का प्रभुनाथ पासी, सुद्धोधन गाउँपालिका–१ का सुरेन्दर मन्लाह, कपिलवस्तु कृष्णनगर नगरपालिका–३ का विनोद एला, रुपन्देही सुद्धोधन गाउँपालिका–४ का सागर काफ्ले र अशोककुमार घिमिरे रहेका छन्।

त्यस्तै रुपन्देही सुद्धोधन गाउँपालिका–१ का रामेश्वर थारु, गैडहवा गाउँपालिका–३ का अब्दुल रहिम, सुद्धोधन गाउँपालिका–१ का रामू सहानी, कपिलवस्तु नगरपालिका–७ का लवकुश गिरी र कृष्णनगर नगरपालिका–३ का लक्ष्मीप्रसाद जैसवाल पनि पक्राउ परेका छन्।

यसैगरी रुपन्देही गैडहवा गाउँपालिका–३ का श्रीराम यादव, गैडहवा–८ का जगन्नाथ लोध, लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का अस्लम मुसलमान तथा दाङ लमही नगरपालिका–५ का राजु भन्ने हेमराज ज्ञवाली र विमल डाँगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

बरामद भएको ठूलो रकम, मोबाइल फोन र जुवामा सहभागी व्यक्तिको संख्याका आधारमा प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। बरामद मोबाइल तथा अन्य सामग्रीबाट उनीहरूबीचको सम्पर्क, जुवा सञ्चालनका क्रममा स्थान परिवर्तन र आर्थिक कारोबारबारे थप तथ्य खुल्न सक्ने प्रहरीको अपेक्षा छ।

कृष्णनगर भारतसँग जोडिएको सीमावर्ती क्षेत्र भएकाले यहाँ हुने अवैध गतिविधिमाथि सुरक्षा निकायले निगरानी गर्दै आएको छ। पछिल्लो घटनापछि लुकिछिपी सञ्चालन हुने जुवाका गतिविधिमाथि निगरानी थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रहरीले पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनामा बरामद रकमको स्रोत, जुवा सञ्चालनमा कसको भूमिका थियो र अन्य व्यक्तिको समेत संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय