पोखरा, ३० साउन — पोखराको विजयपुर खोलाले बगाउँदा दुई जना बालक बेपत्ता भएका छन्। पोखरा महानगरपालिका वडा नम्बर २६ र १४ को सीमा क्षेत्रमा पर्ने सक्नेरीस्थित खोला तर्ने क्रममा उनीहरू बगाएर बेपत्ता भएका हुन्।
वडा नम्बर १४ विजयबस्तीतर्फबाट भगवती हाइड्रोपावर नजिकैको विजयपुर खोला तर्न खोज्दा स्याङ्जा घर भई पोखरा बस्दै आएका १४ वर्षीय निक्सन राई र १५ वर्षीय अमन राई बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ। (अमनको घरको ठेगाना खुल्न बाँकी रहेको छ।)
घटनालगत्तै कास्की प्रहरीका प्रवक्ता एवं डिएसपी वीरेन्द्रकुमार पासवानको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीको गोताखोर टोली खोजी कार्यका लागि परिचालन गरिएको छ। स्थानीयवासीले बालकहरूलाई खोलाले बगाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। हाल प्रहरी र स्थानीयको संयुक्त प्रयासमा खोजी तीव्र पारिएको छ।
कास्की प्रहरी प्रवक्ता पासवानका अनुसार बेपत्ता निक्सनको परिवार सम्पर्कमा आइसकेका छन् भने अमनको परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ। खोलामा पानीको बहाव अत्यधिक बढेका कारण गोताखोर टोलीलाई खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
सक्नेरी हुँदै बग्ने विजयपुर खोला वडा नम्बर २७ को मोरेखरे पुगेर सेती नदीमा मिसिने भएकाले सोही क्षेत्र आसपासलाई केन्द्रित गरेर खोजी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय