
काठमाडौँ । उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित होटल रेडिसनमा अनुगमन गर्दा ठूलो परिमाणमा ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको छ। विभागका अनुसार होटलमा मात्रै १८४ वटा ग्यास सिलिन्डर भेटिएका छन्।
बजारमा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले होटल तथा व्यावसायिक प्रतिष्ठानमा निगरानी बढाएको थियो। सोही क्रममा गरिएको अनुगमनमा रेडिसन होटलमा नेपाल ग्यास र एसटीसी ग्यासका सिलिन्डर ठूलो संख्यामा मौज्दात रहेको भेटिएको हो।

विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा भरिएका सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिएका छन्। त्यस्तै, होटलका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको पाइएको विभागले जनाएको छ।
बजारमा उपभोक्ताले ग्यास अभाव झेलिरहेका बेला होटलमा ठूलो परिमाणमा ग्यास मौज्दात राखिएको भेटिएपछि सम्बन्धित होटलमाथि कारबाहीको तयारी भइरहेको उद्योग मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बजारमा पर्याप्त ग्यास उपलब्ध हुँदाहुँदै उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था अन्त्य गर्न होटल, व्यावसायिक प्रतिष्ठान तथा ग्यासको अनधिकृत भण्डारणमाथिको निगरानी थप कडाइ गर्ने जनाएको छ।




