
दाङ । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साउन १६ देखि १९ गतेसम्म सञ्चालन गरिएको विशेष अप्रेसनका क्रममा गोप्य सूचनाका आधारमा विभिन्न स्थानमा खोजी अभियान चलाउँदा उक्त परिमाणका एकनाले भरुवा बन्दुक बरामद गरिएको हो।

प्रहरीले इलाका प्रहरी कार्यालय कमिरेचौरअन्तर्गत बंगलाचुली गाउँपालिकाका विभिन्न सामुदायिक वनबाट ३० नाल भरुवा बन्दुक फेला पारेको जनाएको छ। तीमध्ये हिमाल लालीगुराँस सामुदायिक वनबाट ७ नाल, खारखोली सामुदायिक वनबाट ९ नाल, मुर्कुटीस्थित बंगलाचुली सामुदायिक वनबाट १ नाल, आरुनीस्थित लहरे सामुदायिक वनबाट ५ नाल, मौवालेख सामुदायिक वनबाट ३ नाल तथा लवाडे भत्कुले सामुदायिक वनबाट ५ नाल बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, इलाका प्रहरी कार्यालय अमिलियाले लमही नगरपालिका–९ स्थित बिरह सामुदायिक वनको खैरेनी जंगलबाट ७ नाल तथा प्रहरी चौकी रामपुरले बंगलाचुली गाउँपालिका–६ को ठुलीचौरस्थित राष्ट्रिय वनबाट ६ नाल र बंगलाचुली–८ स्थित न्यु कालिका सामुदायिक वनबाट ७ नाल गरी २० नाल बन्दुक बरामद गरेको छ।
त्यसैगरी, प्रहरी चौकी हासिपुरले बंगलाचुली गाउँपालिका–८ अन्तर्गत नव चेतनशील सामुदायिक वनबाट ३ नाल र न्यु कालिका सामुदायिक वनबाट २ नाल गरी थप ५ नाल अवैध भरुवा बन्दुक फेला पारेको जनाएको छ।
प्रहरी निरीक्षक एकबहादुर नेपालीका अनुसार बरामद भएका सबै हतियार एकनाले भरुवा बन्दुक हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।




