काठमाडौँ — देशभरका विभिन्न स्थानमा २४ घण्टाभित्र भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जनाको ज्यान गएको छ भने १४३ जना घाइते भएका छन्। नेपाल प्रहरीले मङ्गलबार सार्वजनिक गरेको तथ्यांकअनुसार धनकुटा, बारा, ललितपुर, काठमाडौँ, पाल्पा र अछाममा यी ज्यान गुमाउने घटना भएका हुन्।

विभिन्न जिल्लामा भएका दुर्घटनाहरू:

  • धनकुटा: तमोर करिडोरअन्तर्गत चौबिसे गाउँपालिका–४ फलामेटारमा विराटनगरबाट ताप्लेजुङतर्फ हाइड्रोपावरको सामान बोकेर जाँदै गरेको ट्रक (प्र १–०२–००१ क ५३६३) ब्रेक फेल भई भित्तामा ठोक्किएको थियो। दुर्घटनापछि लागेको आगोमा परी भोजपुरका ३० वर्षीय चालक विशाल राईको जलेर मृत्यु भयो।

  • बारा: कलैया उपमहानगरपालिका–१७ ब्रम्हपुरीस्थित भित्री सडकमा ना ४५ प २१७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा कलैया–३ का १५ वर्षीय चालक सोयब मन्सुरको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा निधन भएको छ।

  • ललितपुर: महाँकाल गाउँपालिका–२ कटन भन्ज्याङमा गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको स्कर्पियो (बीएए ४६३९) करिब ५० मिटर तल खस्दा काठमाडौँ कोटेश्वरका ५४ वर्षीय शक्तिप्रसाद अधिकारी गम्भीर घाइते भएका थिए। उनको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।

  • काठमाडौँ: गोकर्णेश्वर नगरपालिका–९ पानीट्याङ्की क्षेत्रमा स्कुटर (बा.प्र.०२–०३६ प ४८४१) चिप्लिएर पोलमा ठोक्किँदा घाइते भएका अन्दाजी ३२ वर्षीय पुरुषको नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको छ। मृतकको पहिचान खुल्न बाँकी छ।

  • पाल्पा: तानसेन नगरपालिका–१२ गाईघाट नजिक पाल्पा–गुल्मी सडकखण्डको ओरालोमा टिपर (लु २ ख २४४७) ब्रेक फेल भई पल्टिँदा बागलुङका २६ वर्षीय सहचालक तेजेन्द्र कुमालको ज्यान गएको छ।

  • अछाम: कमलबजार नगरपालिका–२ जुगेपानीस्थित कच्ची सडकमा अटो (सु.प.प्र.००१ ह ८४४०) नियन्त्रण गुमाएर करिब २० मिटर तल खस्दा कमलबजार–५ का बेलु भण्डारीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचारका क्रममा मृत्यु भएको छ।

प्रदेशगत घाइतेको विवरण:

प्रहरीका अनुसार २४ घण्टामा भएका दुर्घटनाहरूमा कुल १४३ जना घाइते भएका छन्।

  • मधेश प्रदेश: ३९ जना

  • लुम्बिनी प्रदेश: २८ जना

  • कोशी प्रदेश: २२ जना

  • काठमाडौँ उपत्यका / कर्णाली प्रदेश: १७–१७ जना

  • सुदूरपश्चिम प्रदेश: ११ जना

  • बागमती प्रदेश: ८ जना

  • गण्डकी प्रदेश: १ जना

घाइतेहरूको देशका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय