
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आगामी २०८३ असार २७ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट प्रकाश श्रेष्ठ द्वितीय उपाध्यक्ष पदमा चुनावी मैदानमा उत्रिएका छन्।
करीब १८ वर्षदेखि पर्यटन तथा आतिथ्य व्यवसायमा सक्रिय श्रेष्ठले आफ्नो लामो अनुभवलाई परिषद्को संस्थागत सुदृढीकरण, पर्यटन व्यवसायीको अधिकार संरक्षण तथा ठमेलको पर्यटन प्रवर्द्धनमा केन्द्रित गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिएको बताएका छन्।

श्रेष्ठका अनुसार ठमेल नेपालको प्रमुख पर्यटकीय केन्द्र भएकाले यसको अन्तर्राष्ट्रिय पहिचान अझ सुदृढ बनाउन योजनाबद्ध र परिणाममुखी कार्य आवश्यक छ। पर्यटन क्षेत्रका अवसर र चुनौतीलाई नजिकबाट अनुभव गरेको उल्लेख गर्दै उनले व्यवसायीबीच आपसी सहकार्य, निजी क्षेत्रसँग प्रभावकारी समन्वय तथा नयाँ पुस्ताका उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए।
उनले परिषद्लाई पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै सरकारी निकाय, निजी क्षेत्र तथा पर्यटनसँग सम्बन्धित संघ–संस्थाबीच प्रभावकारी समन्वय स्थापना गर्नुपर्नेमा जोड दिए। साथै, परिषद्का हरेक निर्णय र कार्यक्रम व्यवसायीको सुझाव तथा सहभागितालाई आधार बनाएर सञ्चालन गरिनुपर्ने उनको धारणा छ।
“पर्यटन व्यवसायमा बिताएको १८ वर्षको अनुभवलाई अब परिषद्को माध्यमबाट व्यवसायीको हित, संस्थागत विकास र पर्यटन प्रवर्द्धनमा उपयोग गर्न चाहन्छु,” श्रेष्ठले भने। “परिषद्लाई अझ समावेशी, प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा स्थापित गर्न मेरो सक्रिय भूमिका रहनेछ।”
श्रेष्ठले अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानल अनुभवी, सक्षम र स्पष्ट कार्ययोजनासहित अघि बढेको दाबी गर्दै उक्त टोलीले परिषद्लाई नयाँ ऊर्जा र प्रभावकारी नेतृत्व दिन सक्ने विश्वास व्यक्त गरे।
आगामी निर्वाचनमा व्यवसायीको हित, पर्यटन क्षेत्रको विकास र परिषद्को संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिने नेतृत्वलाई समर्थन गर्न सम्पूर्ण सदस्य व्यवसायीसमक्ष आग्रह गर्दै उनले आफ्नो पक्षमा मत प्रदान गर्न अपिल गरेका छन्।



