
काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकविरुद्ध ट्राफिक प्रहरीले चलाएको विशेष अभियानमा एकै दिन २ हजार १०२ जना चालक कारबाहीमा परेका छन्। कारबाहीबाट २१ लाख १० हजार ५१४ रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार कारबाहीमा परेकामध्ये ८९ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने, १०८ जना नियमविपरीत राइड सेयरिङ सेवा सञ्चालन गर्ने, ९९ जना ट्राफिक बत्ती उल्लंघन गर्ने तथा ८३ जना तीव्र गतिमा सवारी चलाउने रहेका छन्।

यस्तै, १०० जना अनावश्यक रूपमा हर्न बजाउने, ५९ जना लेन अनुशासन उल्लंघन गर्ने, २ जना लागुपदार्थ सेवन गरेर सवारी चलाउने, ७८ जना एकतर्फी सडकमा सवारी चलाउने र १ हजार ४८४ जना अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन कायम गर्न यस्ता विशेष जाँच तथा निगरानी अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।



