नेपालगञ्ज । भारतसँग खुला सीमा जोडिएको बाँकेमा भन्सार छलीका सामान ओसारपसार गर्ने तस्करहरूले पछिल्लो समय अपनाएको ‘बेवारिसे’ रणनीति फेरि असफल भएको छ। सुरक्षा निगरानी कडा बनेसँगै पक्राउबाट बच्न सामान सार्वजनिक स्थानमा छाडेर उम्किने प्रवृत्ति बढे पनि प्रहरीले विशेष निगरानीका क्रममा करिब १ लाख ७० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको हो।

जिल्लाको जानकी गाउँपालिका–६ पिप्रहवा स्थित महेन्द्र गाडी सोरुम अगाडि रहेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बेवारिसे अवस्थामा छाडिएका भन्सार छलीका सामग्री प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालयको नेतृत्वमा प्रहरी निरीक्षक घनश्याम सुनार तथा अस्थायी प्रहरी पोस्ट राँझाका इन्चार्ज प्रहरी सहायक निरीक्षक लोकबहादुर सिंह ठकुरीको संयुक्त कमाण्डमा खटिएको टोलीले विशेष निगरानीका क्रममा उक्त सामान फेला पारेको प्रहरीले जनाएको छ।

बरामद सामग्रीमा १५० केजी चिनी, ३४ बन्डल चुरोट, ४५ पोका बिडी, १४० पोका सुपर पावर, २८ बोतल डिउ पेय पदार्थ, ६ प्याकेट (१ केजी) सर्फ, २० केजी पास्ता, एक दर्जन ब्लेड, १४ पोका कलम पसन्द र तीन जोर फुटबल जुत्ता रहेका छन्। ती सामग्रीको अनुमानित मूल्य १ लाख ६९ हजार ७२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा पठाइएको छ।

‘बेवारिसे’ तस्करीको नयाँ शैली

सुरक्षा जाँच कडा भएसँगै सीमावर्ती क्षेत्रमा तस्करहरूले सामान सडक किनार वा सार्वजनिक स्थानमा बेवारिसे छाड्ने, अवस्था सहज भएपछि पुनः उठाउने नयाँ रणनीति अपनाउन थालेका छन्। तर प्रहरीको नियमित गस्ती, आकस्मिक चेकजाँच र सूचनाका आधारमा सञ्चालन गरिएका अपरेसनका कारण यस्ता प्रयास पटक–पटक असफल हुँदै आएका छन्।

विशेषगरी दैनिक उपभोग्य वस्तु, सुर्तीजन्य सामग्री र खाद्यान्न भन्सार छली गरी नेपाल भित्र्याउने क्रम अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। यस्ता गतिविधिले राज्यको राजस्वमा प्रत्यक्ष क्षति पुर्‍याउनुका साथै वैध व्यापार व्यवसायसमेत प्रभावित हुने गरेको छ।

प्रहरीले सीमा क्षेत्रमा गस्ती, सवारी जाँच र सूचनामूलक अपरेसनलाई अझ प्रभावकारी बनाइएको जनाएको छ। साथै, यस्ता अवैध कारोबारमा संलग्न वास्तविक तस्करी सञ्जालको पहिचान गरी कानुनी दायरामा ल्याउन अनुसन्धानलाई समेत तीव्र बनाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय