
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ट्राफिक प्रहरी प्रभाग थापाथलीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) किरण राउतलाई प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभएको छ।
काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त र संवेदनशील क्षेत्र मानिने थापाथली चोकको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित तथा नागरिकमैत्री बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा इन्स्पेक्टर राउत सम्मानित हुनुभएको हो।

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले राउतलाई प्रशंसापत्र प्रदान गर्दै उहाँको कार्यसम्पादनले ट्राफिक व्यवस्थापन क्षेत्रमा सकारात्मक उदाहरण प्रस्तुत गरेको बताउनुभयो। उहाँले ट्राफिक व्यवस्थापन केवल सवारी साधनको आवागमन नियन्त्रणमा सीमित नभई नागरिकको सुविधा, सुरक्षा र विश्वाससँग प्रत्यक्ष जोडिएको विषय भएकाले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
हाल ट्राफिक प्रहरी प्रभाग थापाथलीको इन्चार्जका रूपमा कार्यरत इन्स्पेक्टर राउतले आफ्नो जिम्मेवारी सम्हालेपछि थापाथली क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन गर्नुभएको थियो। व्यस्त समयमा सवारी साधनको चाप व्यवस्थापन, पैदल यात्रुको सुरक्षामा विशेष ध्यान, ट्राफिक नियमसम्बन्धी जनचेतना अभिवृद्धि तथा नागरिकसँगको समन्वयात्मक सम्बन्ध विस्तारमा उहाँको भूमिका उल्लेखनीय रहेको प्रहरी स्रोतले जनाएको छ।
त्यसैगरी विद्यालय, कलेज, यातायात व्यवसायी तथा सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिएका ट्राफिक सचेतनामूलक कार्यक्रमले समेत सकारात्मक प्रभाव पारेको बताइएको छ। ट्राफिक नियमको पालना बढाउन र सडक अनुशासन कायम गर्न उहाँले नेतृत्व गरेको टोलीले निरन्तर सक्रियता देखाउँदै आएको छ।
सम्मान ग्रहणपछि इन्स्पेक्टर राउतले प्राप्त सम्मानले थप जिम्मेवार र उत्प्रेरित बनाएको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि नागरिकलाई सहज, सुरक्षित र व्यवस्थित यातायात सेवा उपलब्ध गराउने उद्देश्यका साथ अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाल प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई नियमित रूपमा सम्मान तथा प्रोत्साहन गर्दै आएको छ। यस प्रकारको सम्मानले संगठनभित्र सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्नुका साथै सेवाप्रतिको समर्पण र व्यावसायिक दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।



