
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलले कमान्ड सम्हालेसँगै कार्यालयको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ।
निरीक्षणका क्रममा एसपी पोखरेलले कार्यालयको समग्र अवस्था, प्रहरी कर्मचारीहरुको कार्यसम्पादन तथा सेवा प्रवाहबारे जानकारी लिनुभएको थियो। त्यसपछि आयोजित निर्देशन कार्यक्रममा उहाँले अपराध अनुसन्धान तथा नियन्त्रण कार्यलाई अझ प्रभावकारी बनाउन विद्यमान ऐन–कानूनको कडाइका साथ पालना गर्न गराउन निर्देशन दिनुभयो।

उहाँले जिम्मेवारीबोधका साथ कार्यसम्पादन गर्दै प्रहरी संगठनको गरिमा उच्च राख्नुपर्नेमा जोड दिँदै सेवाग्राहीमैत्री व्यवहार अपनाउन प्रहरी कर्मचारीहरुलाई आग्रह गर्नुभयो। साथै, तालुक कार्यालयबाट प्राप्त आदेश तथा निर्देशनहरुको अक्षरशः पालना गर्न समेत निर्देशन दिनुभएको छ।
एसपी पोखरेलले शान्ति सुरक्षा कायम गर्न प्रहरी र नागरिकबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै व्यावसायिक, अनुशासित र जनउत्तरदायी प्रहरी सेवा प्रवाहमा जोड दिनुभएको प्रहरीले जनाएको छ।



