रूपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी भूपेन्द्र बहादुर खत्रीले रूपन्देही जिल्लाका सीमावर्ती प्रहरी इकाइहरूको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ।

डिआईजी खत्रीले जिल्ला प्रहरी कार्यालय रूपन्देही मातहत रहेका इलाका प्रहरी कार्यालय मझगावाँ, प्रहरी चौकी बगौली, प्रहरी चौकी पाण्डे पिप्रहवा, प्रहरी चौकी मुडिला करौता तथा प्रहरी चौकी रोईनिहवाको निरीक्षण गर्दै त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनुभएको हो।

निरीक्षणका क्रममा उहाँले समसामयिक सुरक्षा चुनौती, अपराध न्यूनीकरण, खुला नाका तथा सीमा सुरक्षाको प्रभावकारी व्यवस्थापन, विपद् व्यवस्थापन तथा नागरिकमैत्री प्रहरी सेवाका विषयमा विशेष जोड दिनुभयो।

डिआईजी खत्रीले प्रहरी कर्मचारीलाई अनुशासन कायम राख्न, पोशाकको उचित प्रयोग गर्न, ड्युटी व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा ट्राफिक प्रहरीको सुरक्षाका लागि रिफ्लेक्टिभ ज्याकेटलगायत आवश्यक सुरक्षा सामग्री अनिवार्य प्रयोग गर्न निर्देशन दिनुभयो। साथै कार्यालय परिसरको सरसफाइ र भौतिक संरचनाको नियमित मर्मत–सम्भारमा समेत ध्यान दिन आग्रह गर्नुभयो।

त्यसैगरी उहाँले नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्दै भारतीय सीमा सुरक्षा बल सशस्त्र सीमा बल (एसएसबी) का अधिकारी तथा कर्मचारीसँग भेटघाट गर्नुभएको थियो। भेटका क्रममा सीमा क्षेत्रमा शान्ति सुरक्षा, आपसी समन्वय तथा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेश प्रहरीले नागरिकको सुरक्षा, कानूनी शासन तथा सुरक्षित समाज निर्माणप्रति आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय