काठमाडौँ — ट्राफिक सप्ताह २०८२ को अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहत ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कको आयोजनामा प्राइभेट कार चालकहरूलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा सुरक्षित र अनुशासित सडक संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा प्राइभेट कार चालकहरूसँग प्रत्यक्ष संवाद तथा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा चालकहरूलाई ट्राफिक संकेत, सडक सुरक्षाका आधारभूत नियम, लेन अनुशासन, गति नियन्त्रण, सिट बेल्टको प्रयोग, मोबाइल प्रयोग नगरी सवारी चलाउने बानी तथा सवारी साधनको नियमित प्राविधिक जाँचको महत्वबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी चालकहरूलाई दैनिक सवारी सञ्चालनका क्रममा देखिने जोखिमपूर्ण व्यवहारहरू पहिचान गर्दै त्यसबाट बच्ने उपायहरूबारे व्यवहारिक रूपमा अवगत गराइएको थियो। साथै, साना लापरबाहीका कारण ठूला दुर्घटना निम्तिन सक्ने भएकाले प्रत्येक चालकले जिम्मेवार र सचेत नागरिकको भूमिकामा रहनुपर्नेमा जोड दिइएको थियो।

ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कका कार्यालय प्रमुख प्रहरी निरीक्षक शेखर कुमार साहको निर्देशन तथा नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा वृत्तमा कार्यरत प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक साहले ट्राफिक नियमको पालना केवल कानुनी बाध्यता मात्र नभई मानव जीवनको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्नुभयो। उहाँले नियमको पालना गरेमा दुर्घटना न्यूनीकरण मात्र नभई सभ्य, सुरक्षित र व्यवस्थित सडक संस्कृतिको विकास सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको समन्वय तथा कार्यान्वयनको जिम्मेवारी ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कमा कार्यरत प्रहरी नायब निरीक्षक महेन्द्र पन्थीले निर्वाह गर्नुभएको थियो। उहाँको नेतृत्वमा चालकहरूलाई ट्राफिक नियम तथा संकेतसम्बन्धी पर्चा, पम्प्लेट र स्टिकरहरू वितरण गर्नुका साथै सवारी साधनमा टाँस गर्ने कार्य गरिएको थियो। साथै चालकहरूले उठाएका जिज्ञासा तथा समस्याहरूको सरल, स्पष्ट र व्यवहारिक रूपमा समाधान गर्दै उनीहरूलाई ट्राफिक नियम पालना गर्न प्रेरित गरिएको थियो।

कार्यक्रममा सहभागी चालकहरूले यस्ता सचेतनामूलक कार्यक्रमले आफूहरूलाई ट्राफिक नियमबारे थप जानकारी प्राप्त भएको र सुरक्षित सवारी सञ्चालनप्रति जिम्मेवार बन्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए।

ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कले ट्राफिक सप्ताह २०८२ अन्तर्गत यस प्रकारका जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ। यस्ता कार्यक्रमहरूले सडक दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासन अभिवृद्धि तथा सुरक्षित सवारी वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय