काठमाडौँ — ट्राफिक सप्ताहको अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहत ट्राफिक प्रहरी प्रभाग, किर्तिपुरले कृतिपुरस्थित Green Village Education Foundation School (राराहिल) मा विद्यार्थी लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा कक्षा १ देखि १० सम्म अध्ययनरत करिब ३५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक संकेत तथा चिन्हहरूको महत्व, सुरक्षित हिँडडुल, जेब्राक्रसिङको सही प्रयोग, हेल्मेट तथा सिट बेल्टको आवश्यकता र बालबालिकाले पालना गर्नुपर्ने आधारभूत ट्राफिक नियमहरूबारे जानकारी गराइएको थियो।

ट्राफिक प्रहरी प्रभाग, किर्तिपुरका सई प्रकाश कडायतलगायत प्रहरी अधिकृतहरूले बाल्यकालदेखि नै ट्राफिक नियमसम्बन्धी ज्ञान र अनुशासनको विकास आवश्यक रहेको उल्लेख गर्दै सचेत नागरिक नै सुरक्षित सडक संस्कृतिको आधार हुने बताएका थिए। सचेतना कक्षामा चित्र, उदाहरण र प्रश्नोत्तरमार्फत विद्यार्थीहरूलाई सरल, रोचक र व्यवहारिक ढङ्गले जानकारी दिइएको थियो।

विद्यालय व्यवस्थापन पक्षले ट्राफिक प्रहरीले विद्यालयमै उपस्थित भई सचेतना कार्यक्रम सञ्चालन गर्नु सकारात्मक र प्रभावकारी पहल भएको भन्दै यसले विद्यार्थीहरूमा जिम्मेवार सडक प्रयोगकर्ताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

ट्राफिक प्रहरी प्रभाग, किर्तिपुरले ट्राफिक सप्ताहको अवसरमा विद्यालय, समुदाय तथा विभिन्न सडक प्रयोगकर्ता समूहलाई लक्षित गर्दै यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय