
वीरगन्ज, पुस — पर्सा प्रहरीले लागू औषध नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेको छ। विशेष सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा ट्रकभित्र कुशलतापूर्वक लुकाएर राखिएको २४० किलो चरेस बरामद गर्दै दुई युवकलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठकका अनुसार ना.३ख ५०९३ नम्बरको ट्रक शनिबार साँझ करिब साढे ७ बजे वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुर ढाट अगाडि रोकी जाँच गरिएको थियो। जाँचका क्रममा ट्रकमा फल्स बनाएर राखिएको ठूलो परिमाणको चरेस फेला परेको हो।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर थाहा नगरपालिका–११ का २९ वर्षीय सरोज मोक्तान र सोही स्थानका २१ वर्षीय नवराज लो रहेका छन्। दुबैलाई हिरासतमा राखी लागू औषध ओसारपसारको नेटवर्क र संलग्न अन्य व्यक्तिहरूको खोजीका लागि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीले लागू औषधविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट सन्देश दिएको छ।



