
विराटनगर, पुस ०५ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले नेपाल–भारत खुला सीमासँग जोडिएका मोरङ जिल्लाका संवेदनशील क्षेत्रहरूको पुस ४ गते स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ। उहाँले विराटनगर महानगरपालिका–१६, १७ र १८ अन्तर्गत पर्ने दरैया, रानी, मटेरुवा तथा एकीकृत भन्सार जाँच चौकी (Integrated Check Post–ICP) क्षेत्रको प्रत्यक्ष अवलोकन गर्दै सीमा सुरक्षाको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे विस्तृत रूपमा जानकारी लिनुभएको हो।
खुला सिमानाको दुरुपयोग गरी बढ्दै गएका अपराधजन्य गतिविधि, लागू औषधको ओसार–पसार, चोरी–तस्करी, अवैध आवतजावत तथा संगठित सीमा अपराध नियन्त्रण गर्ने उद्देश्यले उक्त निरीक्षण गरिएको प्रहरीले जनाएको छ। निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेले सीमा क्षेत्रमा तैनाथ सुरक्षा संयन्त्रको अवस्था, चेकजाँच प्रणालीको प्रभावकारिता, नियमित तथा विशेष गस्तीको अवस्था, साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार कार्यालयबीचको समन्वय र सूचना आदान–प्रदानको अभ्यासबारे समेत सूक्ष्म रूपमा अवलोकन गर्नुभयो।

अनुगमनका क्रममा उहाँले सीमा क्षेत्रमा खटिएका प्रहरी अधिकृत तथा जवानहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दै हाल देखिएका सुरक्षा चुनौती, जनशक्ति तथा स्रोत–साधनको अवस्था, प्रविधिको उपयोग र सुधारका सम्भावित उपायहरूबारे विस्तृत छलफल गर्नुभएको थियो। सो अवसरमा प्रदेश प्रहरी प्रमुख घिमिरेले खुला सीमाका कारण सिर्जना हुने जोखिमप्रति अझै बढी सतर्कता अपनाउन, सीमा क्षेत्रमा हुने गतिविधिबारे सूचनाको संकलन, विश्लेषण र समयमै कारबाही प्रक्रिया सुदृढ बनाउन तथा सन्देहास्पद गतिविधिमा शून्य सहनशीलताको नीति अपनाउन स्पष्ट निर्देशन दिनुभयो।
उहाँले विशेषगरी लागू औषध कारोबार, अवैध सामानको ओसार–पसार, मानव तस्करी तथा अन्य सीमा अपराध रोकथामका लागि प्रभावकारी र परिणाममुखी गस्ती आवश्यक रहेको उल्लेख गर्नुभयो। त्यसका लागि चेकपोस्टहरूलाई थप सुदृढ बनाउने, आधुनिक प्राविधिक साधनको अधिकतम प्रयोग गर्ने, जोखिम विश्लेषणका आधारमा सुरक्षा रणनीति तय गर्ने तथा स्थानीय बासिन्दा, जनप्रतिनिधि र सरोकारवाला निकायसँग सहकार्य बढाउनुपर्नेमा उहाँको जोड थियो।
प्रदेश प्रहरी प्रमुख घिमिरेले सीमा क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न प्रहरी कर्मचारीको अनुशासन, पेशागत मर्यादा र नागरिकमैत्री प्रहरी सेवालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। उहाँले जनताको विश्वास नै प्रहरीको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै कानुनको दायराभित्र रहेर निष्पक्ष, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।
यस निरीक्षण भ्रमणले सीमा सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि हुनुका साथै नेपाल–भारत सीमा क्षेत्रमा देखिने अपराध नियन्त्रणका लागि आगामी दिनमा अझ प्रभावकारी, समन्वयात्मक र प्रविधिमैत्री रणनीति लागू हुने विश्वास व्यक्त गरिएको छ। साथै, कोशी प्रदेशमा शान्ति–सुरक्षा थप मजबुत बनाउने दिशामा यस प्रकारका नियमित अनुगमन तथा निरीक्षणले महत्वपूर्ण योगदान पुर्याउने प्रहरीको अपेक्षा रहेको छ।



