
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल ६५ वर्षे उमेरहद पुगेसँगै सोमबारदेखि अवकाश भएका छन्। अख्तियारमा आयोजित औपचारिक कार्यक्रममा प्रमुख आयुक्त प्रेमकुमार राईले सिलवाललाई बिदाइ गरे।
सिलवालको अवकाशसँगै आयोगमा एक आयुक्तको पद रिक्त भएको छ।

करिब ४ वर्ष १० महिना आयुक्तका रूपमा सेवा गरेका सिलवाल यसअघि उच्च अदालत पोखराका कामू मुख्य न्यायाधीश रहेका थिए। उनले त्यही पदबाट राजीनामा दिएपछि संवैधानिक परिषद्ले उनलाई अख्तियारको आयुक्तमा सिफारिस गरेको थियो।
सिलवाल २१ फागुन २०७७ मा अख्तियारका आयुक्त बनेका थिए। झण्डै ४१ वर्ष सार्वजनिक पदमा रहेर सेवा गरेका उनले अख्तियारमा नियुक्त हुनु अघि करिब ११ वर्ष उच्च अदालतका न्यायाधीशका रूपमा काम गरेका थिए।




