काठमाडौँ। काठमाडौँमा अनलाइन जुवा (सट्टाबाजी) सञ्चालन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार साँझ ५ बजे गोप्य सूचनाको आधारमा काठमाडौँ महानगरपालिका-११, सुन्धारास्थित ‘द माउण्ट फुजी होटल’को कोठा नम्बर १०१ मा छापा मारेको हो।

पक्राउ परेका व्यक्तिहरूमा भारतको उत्तर प्रदेश देवरिया जिल्लाका ५५ वर्षीय धर्मनाथप्रसाद र कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका-६ का २५ वर्षीय राम नन्द यादव रहेका छन्। उनीहरूले अनलाइन बेटिङ वेबसाइटहरूको माध्यमबाट जुवा खेलाउने कार्यमा संलग्न रहेको प्रहरीको अनुसन्धानमा खुलासा भएको छ।

प्रहरीले उनीहरूको साथबाट ६ थान मोबाइल फोन, विभिन्न व्यक्तिहरूको नाममा बनाइएका ६ थान चेक, हिसाब किताब राख्न प्रयोग गरिएको एक थान नोटबुक र नगद ३७ हजार रुपैयाँ बरामद गरेको छ। साथै, अनुसन्धानका क्रममा केही व्यक्तिहरूको खातामा २८ लाख ४६ हजार ९८.९७ रुपैयाँको मौज्दात रकम समेत फेला परेको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको थप अनुसन्धान जारी राखेको र थप खुलासा गरिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय