
काठमाण्डौं— आगामी चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय इलामले “चाडपर्व विशेष सुरक्षा योजना–२०८२” तयार गरी कार्यान्वयनमा ल्याएको छ।
यस योजनाअनुसार चोरी, डकैती, लुटपाट, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, उच्छृङ्खल गतिविधि प्रदर्शन गर्ने, चर्को आवाजमा मोटरसाइकल चलाउने, जुवा–तास खेल्ने/खेलाउने लगायतका गैरकानुनी गतिविधिहरू नियन्त्रण गर्न जिल्लाभर विशेष सुरक्षा व्यवस्था मिलाइएको छ।

यात्रुहरूलाई सहायता र सहजीकरण गर्न इलाम, मंगलबारे, फिक्कल, दानाबारी, जोरकलश लगायतका स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। साथै, तोकिएको भन्दा बढी भाडा असुल गर्ने वा सिट क्षमता भन्दा बढी यात्रु राख्ने सवारी साधन तथा चालकलाई कानुनअनुसार कारबाही गरिने जनाइएको छ।
योजना अनुसार दैनिक चेकिङ, पैदल गस्ती, ग्रामीण गस्ती, पेट्रोलिङ, एम्बुसिङ, चेकपोइन्ट, पिकेट, बजार अनुगमन, सिमानाका चेकिङ तथा सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ। यसरी जिल्ला प्रहरी कार्यालय इलामबाट २८ जना ट्राफिक प्रहरीसहित कुल ४८५ जना प्रहरी परिचालन गरिएको छ।
चाडपर्व मनाउने नाममा सडक अनुशासन भंग गर्ने, अत्यधिक मादक पदार्थ सेवन गरी समाजमा अशान्ति मचाउने, जुवा–तास लगायत हारजित हुने जुवाजन्य गतिविधि गर्ने वा गराउने कार्य कानुनले निषेध गरेकोले जिल्ला प्रहरी कार्यालय इलामले आम नागरिकलाई यस्ता गतिविधिमा संलग्न नहुन अनुरोध गरेको छ।




