
काठमाडौँ । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदान अधिकार दिनुपर्नेमा जोड दिएका छन्। सर्वोच्च अदालतले यसअघि दिएको आदेशलाई कार्यान्वयन गर्दै आगामी निर्वाचनमा यस्तो व्यवस्था सम्भव बनाउन आफू कटिबद्ध रहेको उनले स्पष्ट पारे।
निर्वाचन आयोगमा बिहीबार आयोजित छलफलमा मन्त्री अर्यालले समानुपातिक निर्वाचन प्रणालीमार्फत भए पनि विदेशस्थित नेपालीलाई मतदानको अवसर दिनुपर्ने माग बढ्दो क्रममा रहेको उल्लेख गरे।

उनले भने, “विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भए पनि मतदान गर्न पाउनैपर्छ भन्ने छ। सर्वोच्चले आदेश दिएको पनि धेरै भयो, यसलाई सम्भव बनाउनैपर्छ। सकेसम्म सबैलाई समेट्ने मेरो प्रयास हुनेछ।”
त्यसक्रममा उनले प्राविधिक चुनौती भए पनि सम्भव हुने ठाउँमा राजदूतावासमार्फत प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न सकिने धारणा राखे।



