
काठमाडौं । गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले देशभरका प्रहरी युनिटमा कार्यरत अधिकृतलाई उच्च मनोबलका साथ सेवामा तल्लीन हुन निर्देशन दिएका छन्।
जेनजी आन्दोलनपछि क्षतिग्रस्त काठमाडौंका केही प्रहरी कार्यालयको निरीक्षण गरेपछि बिहीबार बिहान नक्सालस्थित प्रधान कार्यालय पुगेका मन्त्री अर्यालले नयाँ परिवर्तनलाई आत्मसात् गर्दै प्रहरी कर्मचारीहरू ड्युटीमा तैनाथ हुने विश्वास व्यक्त गरे।

उनले भने, “तपाईँहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी पालनामा लाग्नुहुनेछ भन्ने विश्वास वर्तमान सरकारले लिएको छ। यो सरकार उच्च मनोबलयुक्त प्रहरी कर्मचारीको पक्षमा छ।”
मन्त्री अर्यालले आफू शाकाहारी र स्वभावतः अहिंसावादी भएको उल्लेख गर्दै प्रहरीलाई पनि अहिंसावादी शैलीमै प्रस्तुत हुन निर्देशन दिए।
गृहमन्त्रीको उक्त ब्रिफिङमा देशभरिका कार्यालय प्रमुखलाई भर्चुअल माध्यममार्फत जोडिएको थियो। प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार क्षतिग्रस्त भवनको निरीक्षणकै क्रममा मन्त्री अर्याल प्रधान कार्यालय पुगेका हुन्।



