
सुरक्षा सरोकार— गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा व्यवसायी डा. उपेन्द्र महतोले देशभित्र र बाहिर रहेका सबै नेपालीलाई हातेमालो गरेर सुरक्षित, समृद्ध र सुन्दर नेपाल निर्माणमा जुट्न आह्वान गरेका छन्।
जेन–जी आन्दोलनमा सरकारको दमन देखेर आफू विचलित भएको बताउँदै उनले ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। आफ्नै मेडिसिटी अस्पतालमा घाइतेको निःशुल्क उपचार गरिएको उनले स्मरण गराए।

आन्दोलनपछिको हिंसात्मक ताण्डवमा सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतलगायत संरचनासँगै काठमाडौंस्थित आफ्नो करिब १५० वर्ष पुरानो ऐतिहासिक घर पनि आगलागीमा खरानी भएको उनले बताए। “त्यो घर मेरो संघर्ष, प्रगति र जीवनका सुखदुःखको साक्षी थियो,” महतोले भने।
संसारभरका नेपालीलाई संगठित गरी योगदान ल्याउन सुरु गरिएको एनआरएन अभियानबारे उनले गर्व व्यक्त गर्दै, विनाशको घडीमा निराश नभई अझै धेरै लगानीसहित नेपाललाई उठाउन आग्रह गरेका छन्।
उपेन्द्र यादव सोचेर उपेन्द्र महतोको घर जलाए
देशमा आन्दोलनको लहर चढ्दा कहिलेकाहीँ विवेक हराउँछ। आक्रोश र भीडको हुरीमा दोषी–निर्दोषी छुट्याउने समय रहँदैन। यसैबीच काठमाडौंमा भएको अराजक आन्दोलनमा एनआरएनए संस्थापक अध्यक्ष तथा व्यवसायी डा. उपेन्द्र महतोको करिब १५० वर्ष पुरानो ऐतिहासिक घर जलेर खरानी भयो।
तर यहाँ एउटा विडम्बना देखिन्छ—नारा “उपेन्द्र यादव” बिरुद्ध थियो, जलाइयो भने “उपेन्द्र महतो” को घर। दुई फरक व्यक्तित्व, दुई फरक पृष्ठभूमि तर एउटै नाम “उपेन्द्र” को कारण निर्दोष महतो परिवार पीडित बन्यो।
महतोले जीवनभर आर्जन गरेको सम्पत्ति मात्र होइन, उनका सन्तानको बाल्यकालका सम्झना, संस्कृतिको धरोहर र ऐतिहासिक महत्व बोकेको संरचना समेत खरानीमा परिणत भयो। त्यो केवल एउटा घर थिएन, नेपालकै सांस्कृतिक सम्पदा थियो।
यो घटनाले हाम्रो समाजलाई ठुलो प्रश्न गरेको छ—आन्दोलनले के नष्ट गर्ने? व्यवस्था सुधार्ने कि आफ्नै धरोहर जलाउने? व्यक्तिको आक्रोशले निर्दोषलाई चोट पुर्याउँदा आन्दोलनको नैतिकता गुम्छ।



