
काठमाडौं । मंगलबार भएको हिंसात्मक आन्दोलनमा प्रहरीका विभिन्न कार्यालयसँगै प्रहरी अधिकारीका निजी घरमा समेत तोडफोड र आगजनी भएको छ। काठमाडौंको बुढानिलकण्ठ, काँडघारी, कीर्तिपुरलगायत स्थानमा रहेका प्रहरीका घरहरूलाई निशाना बनाइएको बताइएको छ। व्यक्तिगत रिसिवीका आधारमा समेत घरमा आक्रमण गरिएको अधिकारीहरूले बताएका छन्।
उपत्यकाका अधिकांश प्रहरी कार्यालयमा तोडफोड र आगजनी हुँदा केही प्रहरीले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन्। सो क्रममा प्रहरीका हतियार समेत लुटिएको छ।

सुरक्षा परिस्थिती नियन्त्रणमा लिन सेना परिचालन भएसँगै बुधबारदेखि प्रहरीहरू क्रमशः कार्यालय फर्किन थालेका छन्। तर, प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन आग्रह गरे पनि धेरै प्रहरी अझै सम्पर्कमा आएका छैनन्।
‘प्रहरीको मनोबल शून्यमा पुगेको छ,’ एक वरिष्ठ प्रहरी अधिकारीले बताए, ‘यस्तो अवस्थामा कसरी काममा खटिने र खटाउने भन्ने अन्योल छ।’



