
—राजेन्द्रबाबु रेग्मी
पटक-पटक नेपालमा परिवर्तन त हुन्छ तर हिंसाको माध्यमबाट हुँदा मुलुकमा न विकास हुन्छ न शान्ति कायम रहन्छ। यस गलत दृष्टान्तले सत्तामा पुग्ने चलन स्थापित भएपछि न त दीर्घकालीन विकास सम्भव छ न नै समाजिक स्थायित्व। तर सोको प्रभाव केवल नेपाल प्रहरीले मात्र किन भोग्नु पर्छ भन्ने कुरा गम्भीरतापूर्वक समिक्षा हुनुपर्छ।

पुरानो सत्ता र नयाँ सत्ता, राजनीतिक दलका नेता तथा कार्यकर्ता हुँदा पनि प्रहरीमाथि बारम्बार प्रहार र अपमान गरिने प्रवृत्ति देखिन्छ। जसले गर्दा प्रहरी संरचना कमजोर बन्दै जान्छ र अरू सुरक्षा निकायहरू पनि त्यही अनुपातमा कमजोर हुन्छन्। यदि सुरक्षा निकायको अग्रभाग—नेपाल प्रहरी—लाई कमजोर पारियो भने विकासका प्रक्रियाहरूमै अवरोध उत्पन्न हुन सक्छ र अस्थिरताको सृजनासम्म हुन सक्छ।
इतिहासले देखाएको छ कि प्रहरीलाई केवल उपयोगिताको आधारमा मात्र प्रयोग गरेर काम सकियो भने तत्क्षण उपयोगपछि त्यहीलाई बेवास्ता गरिने चलन पुरानै हो। पञ्चायती कालदेखि बहुदलीय व्यवस्थासम्म, राजनीतिक अन्वेषण शाखाले सङ्कलन गरेको सूचना र विश्लेषणको आधारमा प्रहरीले नीति निर्माण र कार्यान्वयन गरेका थिए। तर अहिले राजनीतिक शाखामा कार्यरत प्रहरीकर्मीहरूको मनोबल बढाउने ठोस कार्यक्रम अभाव देखिन्छ।
काठमाडौं जिल्ला परिसरमा भेटिने केही प्रहरी अधिकृतहरूमा ‘सेलिब्रिटी’ जीवनशैली, सेवा ग्रहकको फोन नउठाउने प्रवृत्ति र राजनीतिक चेतनाको कमी देखिन्छ। इतिहास बुझ्ने र भविष्य लेख्ने क्षमता भएका व्यक्तिले पहिले नै इतिहास अध्ययन गर्नै जरुरी छ। राजनीतिसँग नजिकिनुपर्ने भनि गुटबन्दी र सिन्डिकेटको निर्माण भन्दा व्यावसायिक प्रहरी भएर समुदाय र स्थानिय जनतालाई केन्द्रबिन्दु बनाएर सेवा गर्दा मात्रै दीर्घकालीन परिणाम मिल्नेछ।
पुराना प्रहरीहरू समुदायमा लोकप्रिय थिए — माटोको कसम खाएर, साथी र समुदायसँगै रहेर काम गर्थे। अहिलेको नेपाल प्रहरीले पनि आफ्नो भूमिका परिवर्तन गरी समाजको सेवा र सुरक्षा सुनिश्चित गर्नैपर्छ। जलेका भग्नावशेष र झ्चरिएका भवनबाट उठेर कारबाही, अपराध अनुसन्धान र नियन्त्रणमा कडा प्रस्तुति जुटाउनै पर्दछ। जबसम्म शान्ति–सुरक्षामा सम्झौता हुँदैन, तबसम्म कठोर र परिणाममुखी कदम आवश्यक छन्।
भीड नियन्त्रणका लागि आवश्यक आधारभूत सामाग्री र उपकरणका टेन्डर प्रक्रियाहरू छिटो र पारदर्शी रुपमा अगाडि बढाउनुपर्छ। हाल प्रहरीले ती सामाग्रीको सानो भाग पनि प्राप्त गरेको छैन — केवल मौखिक अनुरोध र नमस्कार गर्ने तहमै सीमित रहेको अवस्था unacceptable हो। बलप्रयोगका लागि पुराना तथा असन्तोषजनक हतियारको भर नपारी आधुनिक र मानवीय तरिका अपनाउन आवश्यक छ।
मनोबल उठाए बिना शान्ति–सुरक्षा सम्भव छैन। जलेका भवन र खरानीका थुप्राबाट उठेर प्रहरीलाई दृढ र सक्षम बनाउनु सरकार र समाज दुवैको जिम्मेवारी हो। अपराधीलाई देखिने गरी पक्राउ गरी कारबाही गर्दा नै जनविश्वास फर्किन्छ। सरुवा–बढुवामा पारदर्शिता भएमा प्रहरीको मनोबलमा निश्चित सुधार आउँछ।
अहिलेका केही प्रहरी अधिकृतहरू कानुनका किताब र मानवअधिकार पुस्तकहरूको भयले कारबाहीमा हिचकिचाउँछन्। तर विगतका उत्साही कमाण्डरहरूसँग जस्तो साहस भयो, र उनीहरूले परिवार–सामाजिक व्यवस्थालाइ समेत नजरअन्दाज गरेर कर्तव्य निभाएका थिए, त्यस्तो समर्पण र अनुशासन फिर्ता ल्याउनुपर्छ। निलो बर्दी लगाउने हरेक प्रहरीले देश र समाजको लागि जिउँदो बलिदान दिन तयार रहनु पर्छ।
आजको चुनौती: नेपालको प्रहरी मनोबल उठाउन सरकारले स्पष्ट नीति, पर्याप्त स्रोत, पारदर्शी व्यवस्थापन र दृढ कारबाही सुनिश्चित गर्नुपर्छ। नत्र प्रहरीले आगामी दशकसम्म मनोबलमा गम्भीर कमी भोग्न सक्छ र त्यसका नकारात्मक प्रभाव सम्पूर्ण राष्ट्रले बेहोर्नु पर्नेछ। हामी सबैले प्रहरीको मृत शरीर र जलेका भवनहरूलाई शान्ति र सुरक्षाका प्रतीक बनाउन चाहिने उपायहरू उठाउनैपर्छ।



