
दाइ,
हिजोको दिनमा—

“विदेश जान्छु” भन्ने मेरो सोचमा,
तपाईंले भन्नुभयो—
“बाउ–आमालाई एक्लै छोडेर कहाँ जाने?
सरकारी जागिर हो, आफ्नै मातृभूमि सेवामा लाग्नुभन्दा ठूलो के हुन्छ र?
हातमा आएको अवसर छोड्नु हुँदैन भाइ, जा जा…”
तपाईंको त्यो धकेलाइले मलाई यहाँसम्म ल्यायो।
तर, केही प्रश्न गर्छु दाइ—
मैले निलो वर्दी लगाउँदा,
के म अब अछुत भयो?
वर्दी खोल्दा मात्रै म तपाईंको सन्तान?
वर्दी लगाउँदा म ‘अछुत’ भए?
राज्यले दिएको जिम्मेवारी—
आन्तरिक सुरक्षा,
हुलदंगा रोक्ने,
महत्वपूर्ण संस्थानको रक्षा…
तर आज—
कर्तव्य पूरा गर्दा मलाई जिउँदै जलाइयो;
बीच बाटोमै लौरो–लौरोले पिटेर राखियो;
खोलामा लखेटी–लखेटी मारियो;
सारा नेपालमा मेरो संगठनको अस्तित्व मेटाइयो;
मेरो निलो वर्दीको अपमान गरियो।
दाइ, गल्ती मेरो थियो कि तिमीले जिताएको नेताको?
भोट हाल्ने दिन पनि म चुनावकै ड्युटीमा थिएँ—
तर तिमी भोट गन्नमै व्यस्त थियौ।
आज क्रुरतापूर्वक मलाई नाङ्गो बनाएर झार्दा,
न तिम्रो नेताको आँखामा आँसु आयो, न तिमीले रुने।
भक्कानिइन ती मेरी आमा।
मलाई “जा जा” भनी धकेल्नु अघि,
तिमीलाई थाहा थिएन र पुलिसको काम, कर्तव्य के-के हुन्छ भनेर, दाइ?
दाइ, पशुपतिले हामीलाई माफ गर्नुहोला त?
पुस्ताको रगतले नसराप्ला त?
— सगुन खड्का



