
काठमाडौं । यही सोमबार र मंगलबार चलेको जेन–जी आन्दोलनका क्रममा संरचना जलाउने र लुटपाट गर्ने व्यक्तिमाथि प्रहरीले निगरानी सुरु गरेको छ। शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले विज्ञप्ति जारी गर्दै यस्ता कार्यमा संलग्नको फोटो, भिडियो वा फुटेज भए प्रहरीलाई पठाउन आग्रह गरेको हो।
सीआईबीको सूचनामा भनिएको छ, “प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, बैंक, वित्तीय संस्था, सार्वजनिक सम्पत्ति, सरकारी संरचनालगायतमा आगलागी गर्ने, त्यहाँ रहेका ऐतिहासिक दस्तावेज, बहुमूल्य कागज तथा जिन्सी लुटिएको छ। यस्ता महत्वपूर्ण सामग्री बिक्री–वितरण गरिएको वा जानाजान किनबेच गरिएको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको छ।”

यस्तो कार्य गर्ने जोसुकै कानुनी कारबाहीमा पर्न सक्ने चेतावनी दिँदै सीआईबीले यस्ता सामग्री भेटिएमा वा किनबेच भएको थाहा पाएमा तुरुन्त खबर गर्न आग्रह गरेको छ। घटनासम्बन्धी फोटो, भिडियो वा फुटेज पठाएर सहयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
जेन–जी आन्दोलनका क्रममा देशभर थुप्रै भौतिक संरचना ध्वस्त पारिएका छन् भने नगद, गरगहना तथा जिन्सी सामग्रीको लुटपाट समेत व्यापक रूपमा भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले परिस्थिति अझै पूर्ण रूपमा अनुकूल नभएको बताए। उनका अनुसार नयाँ सरकार गठनलगत्तै त्यस्ता मुद्दामा प्रवेश गरिनेछ। उनले भने, “प्रदर्शनका क्रममा सयौं प्रहरी कार्यालय जलेका छन्। प्रहरी कार्यालयमा बसेर काम गर्ने वातावरण अझै बनेको छैन। तर प्राप्त फोटो र भिडियोका आधारमा गलत गर्नेहरूमाथि कारबाही हुन्छ।”
गत चैत १५ गतेको आन्दोलनका क्रममा लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ परेका उदाहरण स्मरण गराउँदै उनले यसपटक पनि त्यस्तै कानुनी प्रक्रिया अघि बढ्ने बताए।
यता, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जेन–जी आन्दोलनका प्रत्येक दृश्य र फोटो संकलन भइरहेको जानकारी दिए। उनले भने, “यस कार्यमा नेपाली सेना र सशस्त्र प्रहरीले समेत सहयोग गरिरहेको छ।”
आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा आगजनी र लुटपाट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। यस्तै, केपी शर्मा ओलीको घरबाट जिन्सी र नगद बोकेर हिँड्ने, शेरबहादुर देउवाको घरबाट लाखौं रुपैयाँ निकालिएको देखिने भिडियो पनि चर्चामा छन्। निजी सम्पत्ति मात्र नभई सरकारी कार्यालयका बहुमूल्य सामग्रीसमेत चोरी भएको प्रहरीले जनाएको छ।
यसबीच आन्दोलनमा ज्यान गुमाउने ४१ जनाको पहिचान भइसकेको छ। तीमध्ये तीन जना प्रहरीसमेत रहेका छन्। महाराजगञ्जमा असई मिलन राय र जवान उत्तम थापा तथा कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङले ज्यान गुमाएका हुन्। उनीहरूको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।




