
• राजेश सुधाकर
काठमाडौं। भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा संसद भवनलगायतका संरचना ध्वस्त हुँदा नेपाल प्रहरीले बल प्रयोग नगरेको भए आज उनीहरूलाई “निकम्मा र काम नलाग्ने” भनेर आरोप लगाइन्थ्यो भन्ने टिप्पणीहरू सुरु भएका छन्। तर, आन्दोलन रोक्न प्रहरीले बल प्रयोग गर्दा मृत्युदेखि घाइतेसम्मका घटनाले उल्टै प्रहरीमाथि नै दोषारोपण गरिएको देखिन्छ।

समाजका विभिन्न वर्गले आन्दोलन रोक्न नसकेको भन्दै प्रहरीलाई कठोर कारबाहीको माग गर्ने र बल प्रयोग गरेको भन्दै दोषी ठहर गर्ने दोहोरो व्यवहार देखाएको प्रहरी वृत्तभित्र असन्तोष बढेको छ। आन्दोलनकै क्रममा सरकारी सम्पत्ति जलाइए, प्रहरी संरचना ध्वस्त पारिए, प्रहरीलाई लखेटी हत्या गरियो तर त्यसप्रति समाज मौन बसिरहेको प्रहरी स्रोतको गुनासो छ।
“के ती प्रहरीका परिवार, आमा–बुबा, बालबच्चा छैनन्? उनीहरूको पीडा किन कसैले देख्दैन? प्रहरीमाथि भएको आक्रमणलाई किन समाजले बेवास्ता गरिरहेको छ?” एक प्रहरी अधिकृतले प्रश्न गरे।
आन्दोलनका क्रममा संसद भवनसहित दर्जनौँ सरकारी संरचना जलाइए, प्रहरी चौकीहरू ध्वस्त पारिए, प्रहरीको लुगाफाटा, युनिफर्म, भाँडाकुडा, व्यक्तिगत सामानसमेत लुटपाट गरियो। कतिपय प्रहरीसँग अब लगाउने लुगा र सुत्ने बिस्तारा समेत बाँकी नरहेको पीडादायी अवस्था छ।
प्रहरी नेतृत्वको भनाइमा, आन्दोलनले देशलाई परिवर्तन होइन, अराजकता र हिंसातर्फ धकेलेको छ। “यो आन्दोलन परिवर्तनको होइन, देश र जनताविरुद्ध गरिएको हिंसक गतिविधि हो,” एक वरिष्ठ प्रहरी अधिकृतले भने।
प्रहरी स्रोतका अनुसार आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै त्यसको सम्पूर्ण जिम्मा नेपाल प्रहरीमाथि थोपर्न नमिल्ने स्पष्ट गरिएको छ। “२३ गते गोली चलाउनु प्रहरीको बाध्यता थियो। यदि त्यो नहुने हो भने आन्दोलनमा भएको घुसपैठकै कारण यति ठूलो क्षति भएको हो, यसको जिम्मा प्रहरी लिन सक्दैन,” स्रोतले दाबी गर्यो।
प्रहरी वृत्तमा यो आन्दोलनलाई इतिहासकै सबैभन्दा “कलंकित र अमानवीय” आन्दोलनका रूपमा लिइएको छ। प्रहरीको भनाइमा, यसले न केवल प्रहरी संगठनमा ठूलो क्षति पुर्यायो, देशलाई समेत अराजकतामै धकेल्ने काम गर्यो।
“जेनजी आन्दोलन देशकै इतिहासमा कलंकको टिका बनेर रहनेछ,” एक प्रहरी जवानले भावुक हुँदै भने।