काठमाडौं । मंगलबार प्रदर्शनकारीहरूले सर्वोच्च अदालत परिसरभित्र प्रवेश गरी आगजनी गरेपछि अझै पनि आगो निभ्न सकेको छैन। बुधबार बिहानसम्म पनि अदालत भवनबाट बाक्लो धुवाँ निस्किरहेको छ।

बिहान अदालत पुगेका कर्मचारीहरू शोकाकुल मुद्रामा वरिपरि उभिएका थिए। उनीहरूले अब दमकलले आगो निभाउने सम्भावना पनि न्यून भएको टिप्पणी गरेका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार ६० हजार मुद्दाका फाइल जलेर नष्ट भएका छन्। अहिले पनि मिसिलहरू जलिरहेका छन्। उनले कम्तीमा एनेक्स भवन जोगाउन अपिल गरेका छन्।

एनेक्स भवनभित्र फैसला भइसकेका अभिलेख शाखा रहेको र त्यहाँ पुराना मिसिल तथा महत्वपूर्ण कागजात सुरक्षित रहेको उनले जानकारी दिए।

“त्यहाँ फैसला भइसकेका अभिलेखहरू छन्। पुराना मिसिलहरू पनि छन्। त्यसलाई जोगाउन पाए इतिहास रहन्थ्यो,” कोइरालाले भने, “अहिलेसम्म सुरक्षित नै छ, तर सम्पादन शाखामा रहेका किताबहरूमा आगो लागेको छ।”

त्यस्तै, चौथो तलामा रहेको सूचना प्रविधि महाशाखा र प्रधानन्यायालयका केही फैसलाहरू पनि जलेको उनले बताए।

अदालतका कर्मचारीहरूका अनुसार आगो नियन्त्रण गर्ने वा सुरक्षा गर्ने कुनै पनि माध्यम अब बाँकी नरहेको गुनासो गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय