वीरगञ्ज । मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाले प्रदेशमा शान्ति, सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरी कार्यालयले समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन्।

शुक्रवार वीरगञ्जमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले सामाजिक अपराधहरू मधेस प्रदेशको प्रमुख चुनौती भएको उल्लेख गरे। अपराध रोकथाम र अनुसन्धानमा सबै सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य हुने उनको भनाइ थियो।

“प्रदेश प्रहरी कार्यालयले मधेसका आठ वटै जिल्लाका प्रहरी कार्यालयहरूसँग सहकार्य गर्दै अपराध नियन्त्रण, शान्ति सुव्यवस्था कायम र मानव संसाधन व्यवस्थापनमा केन्द्रित भएर काम गर्नेछ,” उनले भने।

उनका अनुसार मधेस प्रदेश प्रहरी कार्यालय २०७५ सालमा जनकपुरमा स्थापना भए पनि २०७८ साल फागुन ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार वीरगञ्जमा स्थानान्तरण गरिएको हो। यहाँको कार्यालयले सूचना सङ्कलन, अपराध विश्लेषण, फैसला कार्यान्वयन र विभिन्न निकायहरूसँगको समन्वयलाई प्राथमिकता दिने उनले बताए।

सङ्घीय प्रहरी ऐन हालसम्म जारी नभएकाले केही चुनौती भए पनि, ऐन लागू भएपछि मधेस प्रदेश प्रहरीको भूमिका थप प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे। “हामीले सीमित स्रोतसाधन र कानुनी संरचनाका बाबजुद पनि अपराध नियन्त्रण र शान्ति सुव्यवस्थाका लागि निरन्तर प्रयास गरिरहेका छौँ। ऐन लागू भएपछि हाम्रो काम अझ सहज र व्यवस्थित हुनेछ,” उनले भने।

कार्यक्रममा उनले पत्रकारहरूसँग सहकार्यको महत्त्वमाथि जोड दिँदै सुरक्षा सम्बन्धी सूचना आदानप्रदानमा सहयोग गर्न आग्रह गरे। “पत्रकारहरू समाजको ऐना हुन्। तपाईँहरूले प्रदान गर्ने सूचनाले अपराध नियन्त्रण र सुरक्षा व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ,” उनले भने।

लागूपदार्थ दुरुपयोग, मानव तस्करी, सामाजिक अपराध र सीमापार अपराधजस्ता समस्या मधेस प्रदेशका प्रमुख चुनौती भएको उल्लेख गर्दै उनले स्थानीय समुदाय, पत्रकार र सरोकारवालासँग सहकार्यमा जोड दिए।

कार्यक्रममा सहभागी पत्रकारहरूले विभिन्न सुरक्षा मुद्दामा प्रश्न राख्दा, एसएसपी कोइरालाले पारदर्शी र प्रभावकारी प्रहरी सेवा दिन प्रतिबद्धता व्यक्त गरे। उनले आगामी दिनमा अपराध नियन्त्रण, शान्ति सुव्यवस्था र जनताको सुरक्षाका लागि थप रणनीतिक योजना बनाएर अगाडि बढ्ने र स्थानीय तह, प्रशासन तथा नागरिक समाजसँग सहकार्यलाई प्राथमिकता दिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय