सुरक्षा सरोकार । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को पदका लागि प्रतिस्पर्धा तीव्र बनिरहेको छ। हाल रिक्त रहेको एक पदसहित पर्सि बिहीबारदेखि थप तीन पद खाली हुने भएपछि नौ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको दौडमा रहेका छन्।

अस्ति मात्र प्रशासन विभाग प्रमुख कृष्णहरि शर्मा अवकाशमा गइसकेका छन्। यस्तै, बिहीबारदेखि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ र प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी पनि अवकाश हुँदैछन्। सोही दिन प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा अवकाश हुने भएकाले सीआईबी प्रमुख चन्द्रकुबेर खापुङलाई आईजीपीमा नियुक्त गर्ने सरकारको निर्णय भइसकेको छ। खापुङले बिहीबारदेखि आईजीपीको जिम्मेवारी सम्हाल्नेछन्।

बढुवाको प्रतिस्पर्धामा ९ डीआईजी —

एआईजी बन्ने दौडमा हाल ९ जना डीआईजी छन्। तीमध्ये २०८१ मंसिरमा बढुवा भएका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक पनि प्रतिस्पर्धी हुन्। उनीहरू २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभाग (राअव) बाट भर्ना भई पछि नेपाल प्रहरीमा आएका अधिकारी हुन्। उनीहरूसँगै भर्ना भएका सिद्धिविक्रम शाह यसअघि नै एआईजी बनिसकेका छन्। शाहलाई भावी आईजीपीको प्रतिस्पर्धी मानिन्छ।

हाल सुशीलसिंह राठौर प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् भने चतुर्वेदी मधेस प्रदेश प्रहरी प्रमुख, हिमालयकुमार श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र डम्बरबहादुर विक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्।

२०८१ पुसमा बढुवा भएका ५ डीआईजी पनि मैदानमा —

प्रतिस्पर्धामा रहेका अर्को समूह भने २०८१ पुस २६ मा डीआईजी बढुवा भएका अधिकारी हुन्। सो ब्याचबाट कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की, लुम्बिनी प्रदेश प्रमुख राजेन्द्रप्रसाद भट्ट, गण्डकी प्रदेश प्रमुख दिनेशकुमार आचार्य, बागमती प्रदेश प्रमुख अरुण पौडेल र सीआईबीका गोविन्द थपलिया एआईजीको दौडमा छन्।

उनीहरूमध्ये तीन जना (दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी) यसअघि नै एआईजी बनिसकेका छन्। अब बाँकी पाँच जना पनि बढुवाका लागि सक्रिय लबिइङमा देखिएका छन्।

पछिल्लो बढुवा भएका ११ डीआईजीको सम्भावना न्यून —

गत जेठमा मात्रै डीआईजीमा बढुवा भएका ११ अधिकारीलाई भने यसपटक एआईजीमा पुग्ने सम्भावना कम देखिन्छ। ती हुन् — सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र जिसी, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दीपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ।

नेतृत्वमा पुग्ने दौड, कडा लबिइङ —

चन्द्रकुबेर खापुङले आईजीपीको कार्यभार सम्हालेपछि आगामी कात्तिक २७ गते ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन्। खापुङ अवकाश भएपछि रिक्त हुने आईजीपी पदमा हाल बढुवाको तयारीमा रहेका एआईजीमध्ये एक जना पुग्नेछन्। त्यसकारण एआईजी बन्ने प्रतिस्पर्धा यसपटक निर्णायक मानिएको छ।

नेपाल प्रहरीभित्र बढुवाको प्रतिस्पर्धा मात्र नभई राजनीतिक चासो र दबाब पनि रहने भएकाले नौ जना डीआईजीबीच कडा रस्साकस हुने निश्चित छ। हालै नै कसको नाम सिफारिस हुन्छ भन्ने अनुमान लगाउन असम्भव देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय