
सर्लाही — जिल्लाको लालबन्दी नगरपालिका–८, खतिवडा चोक क्षेत्रमा लागुऔषध (ला.औ.) ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले २७ किलो गाँजा बरामद गरेको छ ।
प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा गएको सात जनाको टोलीले बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा दुई जना सवार व्यक्तिले मोटरसाइकल र झोला फालेर फरार हुने प्रयास गरेका थिए । सो क्रममा मोटरसाइकल चालक सर्लाही लालबन्दी–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोनलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ भने अर्का एक जना भने फरार रहेका छन् ।

प्रहरीले बरामद गरेको दुईवटा झोलामा रातो प्लास्टिकमा प्याक गरिएको गाँजा भेटिएको छ । एक झोलामा करिब ५ केजी र अर्को झोलामा ५/५ केजीका ४ पोका गरी जम्मा ५ पोका २७ केजी गाँजा फेला परेको हो । बरामद गाँजा, मोटरसाइकलसहित नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



