सिन्धुपाल्चोक — दोलखा जिल्ला र इलाका प्रहरी कार्यालय बाह्रबिसेको संयुक्त अपरेसनमार्फत बिहीबार ‘डलर काण्ड’मा संलग्न एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेका अनुसार पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–३ धार्पाका विष्णु भण्डारी रहेका छन्। उनलाई बाह्रबिसे नगरपालिका–७ सुनकोसीस्थित अरनिको कलेज नजिकैको माथिल्लो जंगल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

भण्डारीको साथबाट अमेरिकी ५० डलरका १७ थान र १ डलरका ५४८ थान नोट बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, बा ०२–०५४ प ०७३२ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

बाह्रबिसे सुनकोसी क्षेत्रमा अमेरिकी डलर देखाएर ठगी गर्ने तयारी भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले अपरेसन सञ्चालन गरेको थियो। डलर साट्ने निश्चित भएपछि सुरु गरिएको अपरेसनमार्फत भण्डारी पक्राउ परेका हुन्।

इन्स्पेक्टर पाण्डेका अनुसार जंगलमा पछ्याउने क्रममा सुरक्षाकर्मी र भण्डारीबीच पैठेजोरीसमेत भएको थियो, जसलाई हेर्न स्थानीयवासीहरू त्यहाँ जम्मा भएका थिए। घटनामा संलग्न अर्को युवक भने भोटेकोसी खोलाको भीरमा हाम फालेर भाग्न सफल भएको प्रहरीले जनाएको छ।

यस अपरेसनमा इलाका प्रहरी बाह्रबिसेसहित ८ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। फरार युवकको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय