काठमाडौं । रौतहटमा बरामद भएको ६ सय बोराभन्दा बढी चिनी गायब बनाइएको प्रकरणमा नम्बर–११ गणका गणपति सन्तोष बस्नेतलाई समेत सशस्त्र प्रहरी मुख्यालयले स्पष्टीकरणका लागि बोलाएको छ ।

यसैगरी, सुरक्षा बेस सन्तपुर, रौतहटका डीएसपी राजेन्द्र बस्नेतलाई पनि मुख्यालय बोलाइएको छ । उनीहरू घटनाबारे सुरुमै जानकार रहेको तथ्य फेला परेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

यसअघि गणपति बस्नेतलाई बाहिनी कार्यालयले केवल ‘ध्यानाकर्षण’ मात्र गराएको थियो । त्यस्तै इन्स्पेक्टर गणेशकुमार बोहरा र इन्स्पेक्टर दधिराम पौडेललाई पनि चेतावनी दिइएको छ ।

उक्त प्रकरणमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर लामालाई भने यसअघि नै मुख्यालय बोलाएर आन्तरिक छानबिन अघि बढाइएको थियो । उनी प्रत्यक्ष संलग्न रहेको ठहर भएपछि जिम्मेवारी खोसिएर कारबाही प्रक्रिया अघि बढाइएको हो ।

यो घटनामा संलग्न रहेको आशंकामा यसअघि नै १७ जनालाई नम्बर–२ बाहिनी कार्यालय बर्दिबासमा उपस्थित गराई आन्तरिक छानबिन गरिएको थियो । सो क्रममा इन्स्पेक्टर रामचन्द्र लागेजुलाई ‘नसियत’ समेत दिइएको थियो ।

करिब चार महिनाअघि मात्रै रौतहटमा खटिएका डीएसपी लामा यसअघि पनि बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत रहँदा विवादित भएका थिए ।

साउन २९ गते राति डीएसपी लामाको नेतृत्वमा उपेन्द्र सहनीको शिवनगरस्थित घरमा छापा मार्दा ७०० बोरा चिनी बरामद भएको थियो । तर भन्सार कार्यालयमा जम्मा १०६ बोरा मात्रै बुझाइएको रेकर्ड देखिएपछि विवाद चुलिएको हो ।

भन्सार रेकर्डअनुसार १०६ बोरा चिनीसँगै ९ बोरा सिमेन्ट, १० बोरा मल र ९ बोरा कपडा धुने सर्फ पनि बुझाइएको उल्लेख छ । बाँकी चिनी हराएको भन्दै प्रहरी अधिकारीमाथि आन्तरिक छानबिन र कारबाही प्रक्रिया अघि बढाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय