
काठमाडौँ — दाङको तुलसीपुरमा १५ वर्षअघि भएको सामूहिक बलात्कार प्रकरणमा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। अपहरण गरी सामूहिक जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय पाएका तर लामो समयदेखि फरार रहेका चन्द्र बिएम बुढामगर र यादव टण्डन खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार बुढामगरलाई मंगलबार र खत्रीलाई बुधबार तारकेश्वरमा बस्दै आएको घरबाट पक्राउ गरिएको हो।

सर्वोच्च अदालतको संयुक्त इजलासमा न्यायाधीश श्रीकुमार रेग्मी र हरिप्रसाद फुयाँलको २०७९ जेठ १० गतेको फैसलाले बुढामगरलाई ६ वर्ष र खत्रीलाई १६ वर्ष कैद सजाय तोकेको थियो।
घटना १५ वर्षअघि दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा घटेको हो। न्यु राप्ती होटलमा बस्न गएकी एक किशोरीलाई नशामा रहेका युवाहरूले अपहरण गरी नजिकैको पातुखोला किनारमा लगेरे पालैपालो जबरजस्ती करणी गरेका थिए। उक्त घटनामा उनीहरूसहित ९ जनालाई अदालतले दोषी ठहर गरेको थियो।



