
काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाको पदावधि थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को निर्णयमार्फत ३० वर्षे सेवाहद हटाएर थप ६ महिना पदमा निरन्तरता दिने विषयमा छलफल भइरहेको उच्च स्रोतले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली १४ गते चीन भ्रमणमा जाने भएकाले यसअघि नै निर्णय गर्नुपर्ने देखिएको छ। आईजीपी थापाले १८ भदौमा अवकाश पाउनुपर्ने भए पनि सो दिन प्रधानमन्त्री विदेशमा रहने भएकाले बिहीबारकै मन्त्रिपरिषद् बैठकमार्फत निर्णय हुने सम्भावना छ।

गत वर्ष १५ भदौमा अवकाश पाएका प्रहरी अधिकारीहरूले दायर गरेको रिटमा सर्वोच्च अदालतले असार महिनाभित्रै प्रहरी ऐन संशोधन गर्न परमादेश दिएको थियो। त्यही आदेशको आधारमा गृह मन्त्रालयले तयारी अघि बढाएको हो। संसद्मा दर्ता भएको प्रहरी विधेयकमा आवश्यक प्रावधान समेटी निर्णय गर्न मिल्ने गरी छलफल भइरहेको स्रोतले बतायो।
थापाको सत्तागठबन्धनसँग राम्रो सम्बन्ध रहेको र सम्भावित उत्तराधिकारी चन्द्रकुबेर खापुङसँग राजनीतिक निकटता नरहेको कारण पनि पदावधि थप्ने सम्भावना बढेको देखिएको छ। त्यसपछिका ब्याचका अधिकृतप्रति पनि शक्ति केन्द्रको विश्वास नहुँदा थापालाई नै निरन्तरता दिने तयारी भएको बताइएको छ।
यससँगै अवकाशको मुखमा रहेका एआईजी कृष्णहरी शर्मा पोखरेल, सुदीप गिरी र टेकबहादुर तामाङलाई समेत फाइदा हुने देखिएको छ।



