काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटको विषयमा भ्रम फैलिएको भन्दै तत्काललाई कुनै दण्ड–जरिवाना नहुने स्पष्ट गरेको छ।

भ्रम चिर्दै विभागले १ असोजदेखि नम्बर प्लेट नजडान गरे तुरुन्त कारबाही हुन्छ भन्ने हल्ला असत्य भएको जनाएको हो। विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट सबै सरकारी, निजी तथा सार्वजनिक सवारी साधनमा क्रमशः जडान गर्दै लैजाने निर्णय भएको छ।

विभागले मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, “इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा २०८२ असोज १ गतेदेखि तुरुन्त जरिवाना वा कारबाही हुने भन्ने भ्रम उत्पन्न भएको छ। तर तत्काललाई कुनै किसिमको दण्ड–जरिवाना नगरिने व्यहोरा स्पष्ट पारिन्छ।”

यातायात कार्यालयमा गई स्वेच्छाले नम्बर प्लेट जडान गर्न विभागले आग्रह गरेको छ। साथै, इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषासम्बन्धी विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७६ मंसिर २७ गते दिएको फैसलामा अंग्रेजी लिपी प्रयोग संवैधानिक र कानुनी दृष्टिले त्रुटिपूर्ण नरहेको निर्णय भएको स्मरणसमेत विभागले गराएको छ।

विभागले सवारी चालक अनुमतिपत्र, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतमा समेत अंग्रेजी लिपी प्रयोग भइरहेको उदाहरणसमेत प्रस्तुत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय