
काठमाडौं । पछिल्लो समय मधेश प्रदेशका ८ जिल्लाको ट्राफिक व्यवस्थापनमा खटिएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालको कार्यशैलीमाथि प्रश्न उठेपछि प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ।
एसपी सिलवालविरुद्ध खुलेआम असुली धन्दासम्बन्धी ३५ वटा उजुरी परेपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिले सिलवाललाई भदौ १० गतेसम्म लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ भने भदौ ११ गतेदेखि थप कारबाही अघि बढ्ने बताइएको छ।

सिलवालले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई जरिवाना गर्नुपर्नेमा रकम असुलीको लोभमा गाडी नियन्त्रणमा राख्ने, राजश्व अनुसन्धान कार्यालय वा भन्सार पठाउने नाममा बार्गेनिङ गर्ने, ठूलो परिमाणमा सामान बोक्ने लहरीलाई सहज पार्ने तर ट्रिपर व्यवसायीलाई थला पार्ने जस्ता काम गरेको आरोप उजुरीमा उल्लेख छ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले जरिवाना गरेर गाडी छाड्न निर्देशन दिए पनि सिलवालले आदेश नै नमान्ने, बरु पैसा बार्गेनिङमा जोड दिने गरेको तथ्यसमेत बाहिर आएको छ।
यसरी सिलवालको कार्यशैलीले प्रहरी संगठनकै छवि धुमिल बनाउने अवस्था सिर्जना भएपछि छानबिन समिति गठन गरिएको हो।
यता, भन्सार चोरी पैठारीका गाडी नियन्त्रणमा लिएर ठूलो रकम डिल गरेर छोड्ने, चोरीका सवारीसाधन भन्सारमा बुझाउनुपर्नेमा निजी प्रयोजनमा प्रयोग गर्ने जस्ता आरोपसमेत सिलवालमाथि छन्। उनले सिन्धुली प्रहरी प्रमुख हुँदा पनि विवादमा परेका कारण छोटो समयमा स्थानान्तरण भएको स्मरण गरिन्छ।



