काठमाडौं — महिला प्रहरीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौं प्रहरीले ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गर्दै नियमित रूपमा सम्मान गर्ने कार्यक्रमको थालनी गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार अबदेखि प्रत्येक महिना योगदान, पेशागत निष्ठा र संगठनप्रतिको जिम्मेवारीमा उत्कृष्ट प्रदर्शन गर्ने महिला प्रहरीलाई सम्मान गरिनेछ ।

एसएसपी अधिकारीले प्रहरी संगठनभित्र महिला प्रहरीको योगदान उल्लेखनीय रहेको बताउँदै, उनीहरूको हौसला अभिवृद्धि र नेतृत्व क्षमताको कदरस्वरूप नै यो अभ्यास सुरु गरिएको स्पष्ट पारेका छन् ।

यसै क्रममा पहिलो पटक नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत प्रहरी जवान प्रमिला श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक टेककुमारी पाण्डेलाई ‘महिनाको उत्कृष्ट महिला प्रहरी’ घोषणा गर्दै सम्मान गरिएको छ ।

प्रहरी संगठनभित्र नविन सोच, दुरदर्शी योजना र प्रगतिशील कार्यशैलीका धनी बौद्धिक प्रहरी अधिकृतका रूपमा एसएसपी विश्व अधिकारी परिचित छन् । पेशागत दक्षता, संगठनप्रतिको गहिरो निष्ठा र जनमुखी प्रहरी सेवाप्रतिको प्रतिबद्धताका कारण उनी संगठनभित्र मात्र नभई नागरिक समाजमा समेत सम्मानित परिचय बनाउन सफल भएका छन् ।

हाल उनले मुलुकको राजधानीको प्रमुख जिल्ला काठमाडौंको कमाण्ड सम्हालेका छन् । देशकै सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण मानिने क्षेत्रको नेतृत्व सम्हाल्दा उनले प्रहरी संगठनलाई आधुनिक, जिम्मेवार र जनमैत्री बनाउने दृष्टिकोणलाई क्रमशः व्यवहारमा उतार्दै लगेका छन् ।

त्यही दुरदर्शी योजनाअन्तर्गत उनले “महिनाको उत्कृष्ट महिला प्रहरी” सम्मान कार्यक्रमको थालनी गरेका हुन् । यसमार्फत संगठनभित्र कार्यरत महिला प्रहरीको मनोबल अभिवृद्धि गर्ने, उनीहरूको योगदानको कदर गर्ने र भविष्यमा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्य लिइएको हो ।

उनको यो पहलले प्रहरी सेवाभित्र लैङ्गिक समानता, समावेशिता र क्षमतामुखी मूल्याङ्कनको संस्कृतिलाई संस्थागत गर्ने आधार तयार गरेको मानिन्छ । यसरी महिला प्रहरीलाई सम्मानित गर्नुले उनीहरूको भूमिका अझ सशक्त मात्र होइन, संगठनको आन्तरिक वातावरण मजबुत बनाउन र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न पनि टेवा पुग्ने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय